काठमाडौं– आफूहरुको आन्दोलनमा प्रहरी दमन भएपछि नेपाल बार एसोसिएसनका पदाधिकारी छलफलमा जुटेका छन्। प्रहरीको लाठी प्रहारबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत घाइते भएपछि उनीहरु छलफलमा जुटेका हुन्।
बार पदाधिकारी र प्रहरी अधिकारीहरुबीच पनि छलफल भइरहेको बताइएको छ। बार एसोसिएसन परिसरमा पसेर केही व्यक्तिले वकिलहरुलाई धम्की दिएको विषयमा पनि प्रहरीसँग जबाफ मागिएको बार पदाधिकारीले जनाएका छन्।
प्रहरी दमनबारे आफ्नो धारणा सार्वजनिक गर्न एसोसिएसनले आजै अपराह्न ३ बजे पत्रकार सम्मेलन डाकेको छ।
कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो। दंगा प्रहरीले भीड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै उनीहरुले हटाउन माग गरेका हुन्।
सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा केही वकिल घाइते भएका छन्। घाइते हुनेमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका केन्द्रीय सदस्य प्रकाश महर्जन लगायत छन्। श्रेष्ठ र महर्जनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।