काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले घेराबन्दीमा पारेर आक्रमण गरेको आरोप अधिवक्ता ओमप्रकाश अर्यालले लगाएका छन्।
प्रहरीको लाठीबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत वकिलहरु घाइते भएपछि बार परिसरमा बोल्दै अर्यालले भने, ‘सर्वोच्च बारका सचिव ऋषि घिमिरे एक्सरे गराउन मोडेल हस्पिटल जानुभएको छ, प्रकाश महर्जन लगभग अचेत अवस्थामा हुनुहुन्छ न्युरो अस्पतालमा। टाउकोको सिटीस्क्यान गर्नुपरेको छ। टाउकोमा हानिएको छ, टार्गेटेड रुपमा हानिएको छ। किन हान्नुपरो टाउकोमा? घेराबन्दीमा पारेर एक्ल्याएर हानिएको छ। यो मानव अधिकारको विषय हो। यो अन्तर्राष्ट्रिय कानुनको विषय हो। हामी छोड्नेवाला छैनौं।’
वकिलमाथि दमन गर्ने प्रहरीका एसपी र सर्वोच्चका रजिस्टारले बार नेतृत्वसँग माफी माग्नुपर्ने माग उनले गरे। ‘अन्यथा जाहेरी दरखास्त हाल्छौं। यहाँ दर्ता भएन, कारबाही भएन, मानव अधिकार आयोगले हेरेन भने अन्तर्राष्ट्रिय क्षेत्राधिकारमा लान्छौं। संयुक्त राष्ट्रसंघका निकायहरुमा लान्छौं।
कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो। दंगा प्रहरीले भीड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै उनीहरुले हटाउन माग गरेका हुन्।
सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा केही वकिल घाइते भएका छन्। घाइते हुनेमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका केन्द्रीय सदस्य प्रकाश महर्जन लगायत छन्। श्रेष्ठ र महर्जनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।
सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायी प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वारतर्फ जान खोजेपछि भएको झडपमा १० जना घाइते भएका हुन्।
प्रधानन्यायाधीश जबराविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई रोक्न एसलआर बोकेका सुरक्षाकर्मी तैनाथ भएका छन्। प्रहरी टोलीमा एसएलआर बोकेका जवानहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएको देखिन्छ।
एसएलआर बोकेका टोलीमा एसटीएफ ९स्पेसल टास्क फोर्स० लेखिएको छ। कानुन व्यवसायीको प्रदर्शनमा एसएलआरसहितको टोली देखिएको पहिलोपटक हो। यसअघि अदालत परिसरमा यस्तो दृष्य नदेखिएको कानुन व्यवसायीहरुले बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।