काठमाडौं– दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। आफ्नो देशले उपलब्ध गराएको खोप वितरण अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्।
तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले आज बिहान शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन्। सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे।
खोप केन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी लगायत पनि सहभागी थिए। अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौं आएको थियो। सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट दिन सुरु गरिएको छ।
हिजो बुधबार काठमाडौं उत्रिएका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी हुने बताइएको छ।
अमेरिकी सहायक मन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो।