काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्।
आज बिहीबार दिउँसो दुई बजेका लागि उनले बैठक बोलाएका हुन्। सर्वोच्चका अन्य न्यायाधीशले फुल कोर्ट राखेर नियमावली संशोधन गरी गोला प्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका थिए।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरुले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका छन्।
प्रन्या जबराले आजका लागि ९ वटा इजलास पनि तोकेका छन्। विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश जबराले आफूलाई भने कुनै पनि इजलासमा राखेका छैनन्।
आजका लागि २५९ वटा मुद्दा पेसीमा राखिएको छ। न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरे पनि पेसीमा अन्य मुद्दालाई पनि समावेश गरिएको छ।