काठमाडौं– काठमाडौंको गोकर्णेश्वरबाट नेपाली नक्कली नोट ६५ हजार ३६५ सहित पाँच जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा मंगलबार साँझ केही व्यक्तिले नक्कली नोट जस्तो देखिने पैसा दिएर सामान खरिद गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी वत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ घर भई नारायणटार बस्ने वर्ष ५६ की गोमा श्रेष्ठ, सिन्धुपाल्चोकको सोही ठाउँ घर भई नारायणटार बस्ने वर्ष ४१ की पुष्पा थापा मगर, रामेछाप सिरुबारी गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने वर्ष २६ को समरोज थापामगर छन्।
यस्तै प्रहरीले सिन्धुपाल्चोक हेलम्बु गापा–२ घर भई बूढानीलकण्ठ–१० मिलनचोक बस्ने वर्ष १९ को चिरञ्जीवी ज्योति र वर्ष २३ को सुजन ज्योतिलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट १०० को नोटलाई रंगीन प्रिन्ट गरी अगाडि र पछाडिको भागलाई टास गरी नोटको आकारमा बनाई तयारी अवस्थामा रहेको नक्कली नोटजस्तो देखिने १०० को दरको नोट थान २९ र नेपाली रकम १००० को नोटलाई रंगीन प्रिन्ट गरी अगाडि र पछाडिको भागलाई टाँस गरी नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्कली १००० को दरको नोट थान ३६ बरामद गरिएको छ।
प्रहरीले १००० को नोटलाई अगाडिको भाग खाली र पछाडिको भागमा रंगीन प्रिन्ट गरी नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्कली नोटको १००० को दरको कागजको टुक्रा थान ९२ बरामद गरिएको जनाएको छ।
यसैगरी १००० को नोटलाई पछाडिको भाग खाली र अगाडिको भागमा रंगीन प्रिन्ट गरी नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्कली नोट १००० को दरको कागजको टुक्रा थान ११६, ५,०० को नोटलाई रंगीन प्रिन्ट गरी नोटको आकारमा काटेको अगाडिको भाग मात्र रहेको थान ५६, नेपाली रकम ५,०० को नोटलाई रंगीन प्रिन्ट गरी नोटको आकारमा काटेको पछाडिको भाग मात्र रहेको थान ५६ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
उनीहरुको साथबाट सक्कलीजस्तो देखिने नेपाली १०० दरका ८०० वटा, ५० दरका २१ हजार २० को दरबा १०,६०० १० को दरका ५,२०० र ५ को दरका २८५ गरी जम्मा नगद रकम ३७ हजार ८८५ बरामद गरिएको छ। पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टर र नक्कली स्ट्याम्प पनि बरामद गरिएको छ।