काठमाडौं- नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं ओर्लिएका छन्।
सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका हुन्।
दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्।
यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ।
बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौं आइपुग्ने तथा उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो। 'कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ,' विज्ञप्तिमा भनिएको छ।