काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।
कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बुधबार बोरिङको पाइप राख्नका लागि खन्नेक्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्नेक्रममा ग्यासको मुस्लो निस्किएको थियो। बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्।
सुरुको चार घण्टा तीव्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ। ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका हुन्। ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन्। भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको गुनासो छ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुंगा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ। यसअघि जेठमा पनि यस क्षेत्रमा ग्यास निस्किएको थियो।
के भन्छ भूगर्भ विभाग?
काठमाडौंको दक्षिणी भेगमा करिब २५० देखि २८० मिटरसम्मको गहिराईमा डिप ट्युबेलका लागि खन्दा ग्यासको पकेट छेडिएर निस्किने गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले बुधबार पनि ग्यास भएको ठाउँमा छेडिएको कारण उक्त ग्यास निस्किएको बताएका छन्।
उनले भने,'काठमाडौंको दक्षिणी भेगमा करिब २५० देखि २८० मिटरसम्मको गहिराई मिथेन ग्यास पकेट-पकेट भएर बसेको छ। त्यहाँ छेडिँदाखेरि बाहिर आउने गर्छ।'
पछिल्लो पाँच महिनाको अवधिमा काठमाडौंका कपन, मण्डिखाटार, कागेश्वरीलगायतका क्षेत्रमा पाँच पटक उक्त ग्यास निस्किएको घटनाहरु देखा परेको उनले बताए। उनका अनुसार यस ग्यासमा ८५ प्रतिशत पानी र १५ प्रतिशत मात्रै मिथेन ग्यास रहेको छ।
अहिले यो ग्यासबाट आगलागी हुनेलगायतमा खतरा नभएकोसमेत उनले जानकारी दिए। उनले थपे, 'ग्यास लेदो लेदो भएर निस्किने भएकोले आगलागीको त्रास छैन। आगो लाग्नका लागि त्यहाँबाट पानीको मात्रा हट्नुपर्छ। त्यस क्षेत्रमा थोरै पकेट हुन्छ। त्यो सकिएपछि आफैं ग्यास निस्किन बन्द हुन्छ।'