न म हिन्दू हुँ, न मुसलमान।
म न समाजका ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई मान्छु।
न कुनै भेष धारण गर्छु।
दुई सय वर्षअघि लेखिएका यी शब्द त्यो बेलाको पितृसत्तात्मक, जातिवाद र धार्मिक रुढीवादीले गाँजेको समाजका सामु दह्रो चुनौति भएर उभिए।
लेखक थिइन्, महिला। अझभन्दा एउटा दलित समुदायबाट आएकी महिला। जो परिबन्दले यौनकर्मी बन्न पुगिन् र कालान्तरमा एउटा सुधारवादी सोचसहितको क्रान्तिकारी कविको छविमा उज्यालिइन्।
भारतको पञ्जावका इतिहासकारहरु यी कविलाई पहिलो महिला कवि पिरोका नामले चिन्छन्। चल्तीको नाम पिरो भए पनि उनको वास्तविक नाम आयसा हो।
पिरोको जीवनीमा आधारित पुस्तकमा उनको जन्म सन् १८१० मा भएको उल्लेख छ। उनको जन्म विपन्न परिवारमा भएको थियो भने जातिगत दृष्टिले उनीहरुको परिवार तल्लो जातको थियो।
पञ्जाव विश्वविद्यालयका प्रोफेसर जसवीर सिंह आयशाका सुरुवाती दिन निकै कठिन रहेको बताउँछन्।
उनको बिहे बाल्यकालमै भएको थियो भने बिहे भएको केही समयमा पतिकाे मृत्यु भयो।
त्यसपछि उनी देह व्यापारमा लागिन्। खान लाउन केही विकल्प नभएपछि उनी बाध्य भएर यौनकर्मी बन्न पुगेकी थिइन्।
पिरोलाई लाहोरको हिमा मण्डीमा बेचियो। उनी ज्यानको बाजी लगाएर त्यहाँबाट भागिन्।
पिरो त्यहाँबाट सन्त गुलाबदासको कुटीमा पुगिन्। उनी कुटीमा आएपछि कुटीमा विवाद भयो। अन्ततः विवाद साम्य भयो र उनी त्यहीँ बस्न थालिन्। कुटीमा रहँदाबस्दा उनमा सन्त गुलाबदासको आध्यात्मिक शिक्षाको प्रभाव बढ्न थाल्यो।
उनको कविताले सुधारवादी आवाज बुलन्द पार्दै लग्यो। र, उनको छवि सुधारवादी व्यक्तित्वमा दरिन थाल्यो। अनि उनका रचनाहरु सुधारवादी लहर हाँक्ने र चेतनाको ज्वाला फैल्याउने विषयमा केन्द्रित हुन थाले।
बिस्तारै उनी कवितातर्फ आकृष्ट हुन थालिन्। अनि उनको परिचय फेरिएर पिरो प्रेमण भयो।
इतिहासकार डा. राजकुमार हंस पिरो उनको खास नाम नभएको बताउँछन्। ‘उनको खास नाम आयशा थियो तर कुटीमा रहन थालेपछि उनको नाम फेरिएको हो,’ डा. हंस भन्छन्।
कुटीमा रहन थालेपछि उनको ज्ञानको दायरा बढ्दै गयो। गुणी ज्ञानी भएकाले उनका नाम पिर राखियो। तर महिला भएकाले पिरबाट उनी पिरो भइन्।
उनी त्यतिमा मात्रै सीमित भइनन्। उनको कविताले सुधारवादी आवाज बुलन्द पार्दै लग्यो। र, उनको छवि सुधारवादी व्यक्तित्वमा दरिन थाल्यो। अनि उनका रचनाहरु सुधारवादी लहर हाँक्ने र चेतनाको ज्वाला फैल्याउने विषयमा केन्द्रित हुन थाले।
१९औं शताब्दीमा पञ्जावमा राजनीतिक उथलपुथल हुन थाल्यो। सामन्ती प्रथाविरुद्ध जनता जाग्न थालेका थिए। पञ्जावका महाराज रणजित सिंहको मृत्युपछि शासनसत्ता ब्रिटिसको कब्जा परेको थियो।
यसै उथलपुथलको पृष्ठभूमिमा पिरोका कविताले भने समाजमा रहेका रूढिवादी परम्परा प्रथालाई चुनौती दिइरहेका थिए। उनको आवाज प्रभावशाली र जनमानसमा लोकप्रिय हुँदै गइरहेको थियो।
पिरो समाजमा व्याप्त विभेद, बन्धन तथा रूढिहरु भगवानले बनाएको नियमविपरीत भएको बताउँथिन्।
समाज सुधारका लागि पिरो र उनको कविताको ठूलो योगदान रहेको बताउँछन् डा. जसवीर।
‘जुँगा पाले हिन्दू, टुप्पी राखे ब्राह्मण, दाह्री पाले मुसलमान कसरी हुन्छ ?’ कवितामा यस्तै टिप्पणी हुन्थ्यो पिरोको।
पुरुषका लागि धेरै कुरा उपलब्ध भए पनि महिलासँग त्यस्तो केही नभएको पिरोको तर्क थियो।
१८औं शताब्दीमा समाजमाथि धावा बोल्नु निकै क्रान्तिकारी काम थियो। यसका लागि साहस र बौद्धिकता दुवै चाहिन्थ्यो जुन पिरोसँग थियो।
कुनै धर्म अपनाएको पहिचान दिनसक्ने कुनै चिज महिलासँग नभएको तर्क उनको थियो। उनी कट्टर धर्मविरोधी थिइन्। धर्म भनेको आवरण र पहिचानभन्दा माथि रहेको र यसको आफ्नै महत्व रहेको पिरोको भनाइ थियो।
पितृसत्ताले महिलालाई कहीँ न कहीँ, कुनै न कुनै रुपले दबाएकै छ भन्ने मान्यता राख्थिन्, पिरो। पिरोले कविताको माध्यमबाट यसको विरोध गर्न थालिन्। साथै जातपातलाई लिएर पनि टिप्पणी गरिहन्थिन्।
उनलाई आफ्नो जातको कुनै मतलब थिएन। आफू शुद्र वा तल्लो जातकी महिला भएकोमा कुनै पछुतो थिएन।
१८औं शताब्दीमा समाजमाथि धावा बोल्नु निकै क्रान्तिकारी काम थियो। यसका लागि साहस र बौद्धिकता दुवै चाहिन्थ्यो जुन पिरोसँग थियो।
उनलाई त्यसबेला पितृसत्ता, जातिवादी र धर्मविरोधी भएको आरोप पनि लगाइयो। तर अहिले पिरोका कविता पढ्नेहरुले उनलाई उनलाई जातिवादी, धर्मभीरु र रूढिवादविरुद्धको बुलन्द आवाजको प्रतीक मान्छन्।
पञ्जावमा अन्य महिलाले पनि लेखनका माध्यमबाट समाज परिवर्तन गर्न चाहेको भए पनि पिरोको लेखनले नै लय समातेको इतिहासकारहरू बताउँछन्।
-बीबीसी हिन्दीबाट