यरेभान (अर्मेनिया)- अर्मेनिया र अजरबैजानबीच युद्धविराम भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ। रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता भएपछि सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो।
अर्मेनियाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार युद्ध विराम सम्झौता भई युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ। पछिल्लो भीडन्तका क्रममा अर्मेनीयाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन्।
घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मोनियाका उच्च अधिकारीले सहमति जनाएका हुन्।
सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ। सो विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ। द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ। -रासस/सिन्ह्वा