काठमाडौं– पुराना टायर पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ।
आज बुधबार बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ। दुई सिफ्टमा संचालन हुने सो उद्योग गए रातिको बिहान २ बजे दोश्रो सिफ्ट पछि बन्द अवस्थामा थियो। सोहि समयमा आगलागि भएको हुनसक्ने उद्योग संचालक बिनित सिंघानियाले बताए। विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने उनको अनुमान छ।
उद्योगको स्क्र्याप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागिले भिषण रुप लिएको थियो। विराटनगर महानगरपालिकाभित्रका दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाइएको उद्योग प्रशासनले जनाएको छ।
टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो। सो उद्योगले पुराना टायरहरु संकलन गरि पगालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ। फर्नेस आयल उद्योगहरुमा ईन्धनको रुपमा प्रयोग गरिन्छ।