काठमाडौं- अस्पताल, प्रयोगशाला लगायतका रिपोर्टहरूमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सूचित गरेका छन्।
संयुक्त रूपमा सूचना जारी गर्दै दुवै काउन्सिलले अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा प्रयोगशालाहरूलाई विज्ञता हासिल गरेका दर्तावाल व्यक्तिको हस्ताक्षर प्रयोग गर्न अनुरोध गरेका छन्।
स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न, लिखित हस्ताक्षर गर्दा प्रमाणपत्र नम्बर पनि उल्लेख गर्न काउन्सिलले आग्रह गरेका छन्। स्क्यान गरेको हस्ताक्षरको वैधताबारे प्रश्न उठ्न सक्ने भन्दै आधिकारिक रिर्पोटहरूमा स्वास्थ्यकर्मीले हासिल गरेको विज्ञतामा मात्र व्यक्तिको हस्ताक्षर गर्न आग्रह गरेको छ।