काठमाडौं- काठमाडौं, अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ को घोषणा गरिएको छ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दुई रियालिटी शो गरिने घोषणा भएको आयोजक संस्था इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए। उनका अनुसार जनवरीबाट शो सुरू हुनेछ।
मेरो भ्वाइस कप अमेरिका यूएसए–२ को 'जज'का लागि गायक प्रमोद खरेललाई प्रस्ताव गरिएको छ। मेरो डान्स कप यूएसए–४’ को जजमा नायक दिलीप रायमाझी, शंकर बिसी, नरमान राई र नायिका केकी अधिकारी छन्।
नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएका अधिकारीले उक्त रियालिटी शोमार्फत् अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा भाषा, संस्कृतिको जागरुकता ल्याउने प्रयास गरेको बताए।
समाजसेवामा सक्रिय रहँदै आएको उक्त आयोजक संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार रुपैयाँ भत्ता स्वरुप उपलब्ध गराउँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए।
शरणार्थी शिविरमा गएर आर्थिकदेखि लत्ताकपडा, खाद्यान्न उपलब्ध गराउँदै आएको सो संस्थाले नेपालको मौलिक संस्कृति, भाषा, कला संगीतको प्रवर्द्धनमा पनि क्रियाशील रहँदै आएको उनले बताए।