भियना (अस्ट्रिया)- अस्ट्रियाको राजधानी भियनामा बसोबास गर्दै आएकी योग प्रशिक्षक क्यारिनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छैनन्। उनी लगाउन चाहन्नन् पनि।
खोप नलगाएकै कारण यतिबेला उनी लकडाउनमा छिन्। उनीजस्तै लगभग २० लाख नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। यतिबेला अस्ट्रिया सरकारले 'खोप नलगाएकाहरु माथि मात्र लकडाउन' गरेको छ।
खोप नलगाएका व्यक्तिहरूलाई सीमित क्षेत्र र काममा मात्र जान दिइएको छ। खानेकुरा किन्न जान पाउने छुट उनीहरूले पाएका छन्नि। कारण देखाएर अत्यावश्यक भए मात्र उनीहरूलाई घर छोड्न अनुमति दिइएको छ उनीहरूलाई। नत्र घरमा नै बस्नुपर्ने सरकारको नियम छ। खोप नलगाएका व्यक्तिलाई क्याफे र रेस्टुरेन्ट जानबाट पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। त्यसैकारण बीबीसीकी पत्रकारले उनलाई स्थानीय भियना पार्कमा भेटिन्। भियना पार्कमा भने उनलाई व्यायामका लागि जान सक्ने अनुमति दिइएको छ।
क्यारिनालाई आफूहरू जस्ता खोप नलगाएका नागरिकमाथि लकडाउन नै गर्नुको कारण बुझ्दिनन्। आफूहरूमाथि सरकारले लकडाउन गरेर सीमित गर्दा उनलाई दुःख लागेको छ।
'म आज बिहानै पनि केही क्याफेहरूका नजिकैबाट आएँ,' उनले भनिन्, 'क्याफेभित्र नै जान चाहिँ अलि अप्ठ्यारो लाग्छ। तर यसको अर्थ यो होइन कि म त्यहाँभित्र जानै सक्दिनँ। यसरी हामीलाई सीमित क्षेत्रमा मात्र जान अनुमति दिइँदा आफूलाई बहिष्कृत गरिएको र एक्ल्याइएको महसुस हुन्छ। म पनि अन्य मानिस जस्तै एक व्यक्ति न हुँ। तर मलाई उनीहरूको दुश्मन बनाइएको छ। मलाई यो चित्तै बुझ्या छैन।'
'म पनि मानिसहरू बिरामी परून् भन्ने चाहन्नँ। मेरा कारण कोही पनि संक्रमित नहोस् भन्नेमा सचेत छु। म परीक्षण गराउँछु। मलाई (उनको दाबी) कोरोनाको त्यति ठूलो जोखिम पनि छैन,' उनी थप्छिन्, 'कोरोनाविरुद्धको खोप लगाउने वा नलगाउने भन्ने कुरा नितान्त व्यक्तिगत हो। खोप लगाएका मानिसहरूलाई पनि सम्मान गर्छु। खोप नलगाएका र लगाउन नचाहनेहरूलाई पनि उतिकै सम्मान गर्छु।'
सार्वजनिक स्थानमा प्रहरीले आकस्मिक जाँच गर्ने र कोरोनाविरुद्धको भ्याक्सिनको खोप लगाएको प्रमाण देखाउन नसके जरिवाना गर्ने गरिएको प्रहरीले बताएको छ।