काठमाडौं- नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग मंगलबार नेपालका लागि इजरायली राजदूत खनान गोडेरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताएका हुन्।
भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेको श्रम मन्त्रालयले जनाएको छ। अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन्। सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई इजरायलले रोजगारी प्रदान गरेको छ।
केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू छिट्टै रोजगारीका लागि इजरायल जाँदैछन्। योग्यता प्रणालीअनुरूप रोष्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको अवसर दिन नेपालले आग्रह गरिरहेको छ।