सुर्खेत- नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उक्त मन्त्रालयमा शाहीले असन्तुष्टि जनाएपछि उनलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।
नवनियुक्त मन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख परियारले मन्त्री नियुक्त गरेका थिए।
बाँकी मन्त्रीहरु भने मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि मात्रै नियुक्त हुनेछन्। केही दिनमै संसद् बैठक बोलाउने र विश्वासको मतपछि मात्रै बाँकी मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।