काठमाडौं- देशकै पहिलो महानगरपालिका काठमाडौंमा शौचालयको समस्या तत्काल नहट्ने भएको छ। सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि महानगरले खाका तयार पारे पनि ठाउँ नपाउँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
महानगरपालिकाले तीन वर्षअघि विभिन्न ४१ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना ल्याएको थियो। हालसम्म पाँच वटा मात्रै निर्माण सम्पन्न भएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। उनले भने, 'कालीमाटी, कलंकी, नयाँ बानेश्वर, स्वयम्भूमा स्मार्ट शौचालय बनिसकेको छ। अन्य स्थानमा शौचालय बनाउनका ठाउँ पाएका छनौं।' कतिपय ठाउँमा स्थानीयको विरोधका कारण काम हुन नसकेको उनको भनाइ छ। विशालनगरको शिवस्थली, थापाथलीको चेसपार्क लगायतका ठाउँमा शौचालय निर्माण भइरहेको डंगोलले बताए।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनसंख्याको चापअनुसार भीडभाड रहने सहरी क्षेत्रमा प्रत्येक तीन सय मिटरको दुरीमा शौचालय हुन आवश्यक छ। तर काठमाडौंको जनसंख्या र सहरीकरणअनुसार शौचालय नगण्य छन्। भीडभाड हुने नयाँ सडक, बानेश्वर, कलंकी, असनलगायतका स्थानमा सार्वजनिक शौचालय छैनन्।
सार्वजनिक शौचालय बनाउन नसकिने हो भने रेस्टुरेन्ट सञ्चालकलाई केही छुट दिएर उनीहरूको शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न सकिन्छ।
०६८ को जनगणनाअनुसार महानगरभित्र झन्डै १० लाख जनसंख्या छ। महानगरमा सार्वजनिक शौचालय भने ४० वटा मात्रै छन्। विश्व स्वस्थ्य संगठनले हरेक एक सय जनाका लागि एउटा सार्वजनिक शौचालय चाहिने मापदण्ड तय गरेको छ।
महानगरको वातावरण विभागसँग सार्वजनिक स्थलमा ३७, धार्मिक क्षेत्रमा २२, सरकारी क्षेत्रमा ५, पार्कहरुमा ५, पेट्रोल पम्पमा ५६, अस्पतालमा ९, तथा सपिङ कम्प्लेक्समा १७ गरी १ सय ९१ वटा सार्वजनिक शौचालय रहेको तथ्यांक छ। तर ती शौचालयमा बटुवाको पहुँच छैन।
यस्तै काठमाडौं उपत्यकामा तीन ओटा मात्रै स्मार्ट शौचालय रहेका छन्। काठमाडौं महानगरका अनुसार श्वयम्भूमा एउटा, पाटन ढोकामा एउटा र मंगलबजारमा एउटा गरी तीन ओटा स्मार्ट शौचालय रहेका छन्। महानगरले त्रीपुरेश्वरमा थप एउटा स्मार्ट शौचालय निर्माणाधिन अवस्थामा रहेको जनाएको छ।
विज्ञहरूचाहिँ सार्वजनिक शौचालय बनाउन नसकिने हो भने रेस्टुरेन्ट सञ्चालकलाई केही छुट दिएर उनीहरूको शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न सकिने बताउँछन्। ‘यसले चाप कम गर्छ र व्यवस्थित पनि हुनेछ,’ सहरी विकास मन्त्रालयका पूर्वसचिव एवम् सहरी पूर्वाधार विज्ञ किशोर थापा भन्छन्। बस्ती, सडक र सार्वजनिक संरचना निर्माण गर्दा शौचालयलाई प्राथमिकता नदिएकाले समस्या उत्पन्न भएको उनी बताउँछन्।
ललितपुर महानगरपालिकामा ११ वटा सार्वजनिक शौचालय छन्। महानगरमा थप चारवटा सार्वजनिक शौचालय निर्माण भइरहेको छ। ललितपुर महानगरका प्रवक्ता राजु मानन्धरका अनुसार महानगरपालिकाले सहरका केन्द्रमा शौचालय बनाउने योजना अघि सारेको छ। भक्तपुर नगरमा १० वटा मात्र सार्वजनिक शौचालय छन्।
गैरसरकारी संस्था वाटर एडले दुई वर्षअघि गरेको सर्वेक्षणअनुसार उपत्यकाका सार्वजनिक स्थलमा २ सय ४२ वटा शौचालय छन्। तीमध्ये सार्वजनिक स्थलमा ६२, धार्मिक क्षेत्रमा ३४ र सरकारी कार्यालयमा १५, पार्किङ स्थलमा ८ शौचालय छन् भने पेट्रोलपम्पमा ८४, व्यापारिक स्थलमा २२ र अस्पतालहरुमा १७ वटा शौचालय छन्। यीमध्ये अधिकांश स्थानमा रहेका शौचालयबारे धेरैलाई जानकारी नै छैन।
गुठी संस्थानले २०७६ मा गरेको सर्भेअनुसार काठमाडौं महानगरमा ३७ स्थानमा मात्रै सार्वजनिक शौचालय छन्। ती शौचालयमा पनि दिसापिसाब गर्नसक्ने अवस्था छैन। भोटाहिटीको शौचालय पसलहरुले घेरिएका छन्। पहिलो पटक त्यहाँ पुग्नेले शौचालय भेट्टाउन सक्दैनन्।
‘महानगरको सार्वजनिक शौचालयको अवस्था एकदमै नाजुक छ,’ नीति विशेषज्ञ गोविन्द श्रेष्ठ भन्छन्, ‘अधिकांश शौचालय महिलामैत्री, बालबालिकामैत्री र अपांगमैत्री छैनन्।’
काठमाडौं महानगरपालिकाले २०७६ माघमा उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा तीन सदस्यीय शौचालय अध्ययन कार्यदल बनाएको थियो। कार्यदलले प्रयोगमा रहेका सार्वजनिक शौचालय प्रयोगयोग्य नभएको प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनले महानगरमा थप एक सय ५१ स्थानमा नयाँ शौचालय आवश्यक भएको औंल्याएको थियो। तर प्रतिवेदनको सुझावअनुसार महानगरले बजेट र योजना ल्याउन सकेको छैन। भएका शौचालय पनि व्यवस्थित छैनन्। ‘महानगरको सार्वजनिक शौचालयको अवस्था एकदमै नाजुक छ,’ नीति विशेषज्ञ गोविन्द श्रेष्ठ भन्छन्, ‘अधिकांश शौचालय महिलामैत्री, बालबालिकामैत्री र अपांगमैत्री छैनन्।’
२०७६ साल असोजमा नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको थियो। सो घोषणा गर्ने मुलकमा नेपाल एसियामै पहिलो मुलुक थियो। तर, घोषणाअनुरुप नेपालको महानगर नै खुला दिसामुक्त हुन भने सकेको छैन।