कर्णाली- कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले मुगुको आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले मुगुका आगलागी पीडितहरूका लागि तत्कालीन राहत स्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडा वर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको हो।
गए राती छायानाथ रारा नगरपालिका-१ गमगढीमा आगलागी हुँदा तीन घुम्ती पसल सहित २१ घर जलेका छन्। यसैबीच आगलागी र पीडित परिवारको अवस्था बुझ्न मुख्यमन्त्री शाही मुगु जान लागेका छन्। केही राहत सामग्री सहित मुख्यमन्त्री स्थलगत अनुगमनका लागि मुगु जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्रीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज दिइने कर्णाली प्रदेश सरकारले जनाएको छ।