मुगु- मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाएका छन्।
विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका छन्।
‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु।’ मुख्यमन्त्री शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। अहिले स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिरहेको छ। गए राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीन वटा घुम्ती पसल जलेका छन्।