पोखरा- इन्धनमा भएको मुल्यवृद्धिको बिरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव पोखरामा बिहानै देखि परेको छ।
मंगलबार बिहानै देखि पोखराका मुख्य बजार क्षेत्र सुनसान छन्। केही निजी सवारी साधन चलेपनी सार्वजनिक यातायात बन्द छ। तर अत्यावश्यक सवारी साधन भने चलेका छन्।
पार्टीका जिल्ला इन्चार्ज कृष्ण वाग्ले 'रुपेश' ले दैनिक उपभोग्य बस्तु ढुवानी, मिडिया, एम्बुलेन्स लगायतका साधनलाइ चल्न दिएको बताए। जिल्ला प्रहरी कार्यलय कास्कीले बन्द शान्तिपूर्ण भएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ।
नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने सामान्य रहेको छ। काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा गुडिरहेका छन्।
अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरू पनि गुडिरहेका छन्। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै विप्लव नेतृत्वको नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो।