आइतबार, चैत ८, २०८२

सिनेमा हल बन्द हुँदा खुलेको अर्को ढोका

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।
 |  मंगलबार, कात्तिक ३०, २०७८

सुलभ ढकाल

सुलभ ढकाल

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो बजारलाई तरकारी आपूर्ति गर्ने काभ्रेपलाञ्चोकको एक मुख्य क्षेत्र हो, मण्डन देउपुर। मण्डनमा तरकारी खेती फस्टाएको त्यस्तै तीस–चालीस वर्ष भयो होला। तरकारी खेती फस्टाउँदै गर्दा मण्डन देउपुर–१० मा आजभन्दा ३६ वर्षअघि जन्मिएका शंकर नेपालको सोच पनि धेरै युवाजस्तै व्यवस्थापन शास्त्र पढेर कुनै प्रतिष्ठित कम्पनीको प्रबन्धक हुने थियो।

National life

स्नातक सकिएपछि उनले नेपालकै प्रतिष्ठित सिनेमा प्रदर्शक कम्पनी क्युएफएक्समा काम पनि पाए। उनले काम सिक्दै गए, काममा प्रगति हुँदै गयो। उता कम्पनीले पनि नयाँ–नयाँ ठाउँमा हल बनाउँदै गयो। उनी भने सिभिल मलमा रहेको हलमा आवद्ध भए। उनले एक वर्ष, दुई वर्ष गर्दै १३ वर्षसम्म क्युएफएक्समा काम गरिरहेका थिए। त्यहीबेला विश्व आतंकित बनाउने कोरोना महामारी देखा पर्यो।

कोरोना संक्रमण बन्द कोठाको भीडभाडमा बढी सर्ने भएपछि पहिलो मार नै सिनेमा हललाई पर्यो। शंकरको जागिर धरापमा पर्यो। सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले। भनिन्छ नि प्रगतिको एउटा ढोका बन्दा हुँदा पनि अवसरको अर्को ढोका पनि खुलेको हुन्छ। शंकरको हकमा पनि त्यस्तै भयो।

उनका मामाको छोरा सन्तोष पराजुली पनि उनीसँगै सिनेमा हलमा काम गर्थे। अब दुवै युवाले रोजीरोटीको लागि नयाँ उपाय नगरी नहुने वातावरण देखे। अनि दुई भाइ मिलेर काठमाडौंको मूलपानीमा ५ लाख लगानीमा गोलभेंडा खेती थाले। उनीहरुले आफ्नो संस्थाको नाम राखे, समृद्धि कृषि तथा पशुपन्छी फार्म।

फार्ममार्फत खेती थालेको झण्डै एक वर्षमा संस्थाको नामजस्तै उनीहरु समृद्ध हुने दिशातर्फ अग्रसर भएका छन्। ‘फार्म खोलेको झन्डै एक वर्ष हुन लाग्यो,’ कुनै बेलाका क्युएफएक्सका म्यानेजर शंकर नेपालले भने, ‘यसबीच लगानी बढेर १५ लाख पुगेको छ भने हाम्रो अपेक्षाअनुसार नाफा पनि राम्रै कमाएका छौं।’

Laxmi sunrise bank
kumari

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।

मूलपानीको उनीहरुको फार्मले सात रोपनी जग्गा भाडामा लिएको छ। ‘सो जग्गामा अहिले २० वटा प्लास्टिक टनेल बनाएर खेती गरेका छौं,’ उनले भने, ‘टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ।’

टनेल खेतीका केही जोखिम पनि रहेको उनले बताए। टनेलभित्र आद्रता मिलाउनु पर्ने र त्यसका लागि बाहिरीभन्दा टनेलभित्रको तापक्रम बढाउनु पर्ने चुनौती हुने गरेको उनले बताए। त्यसैगरी टनेलमा कतैबाट पनि हावा नछिरोस् भन्नको लागि सतर्क हुनुपर्छ।

वातारवरण र परिस्थिति राम्रो छ भने एक सिजनमा तरकारीमा गरिएको लगानीको तेब्बरसम्म हुने गरी उत्पादन गर्न सकिने उनको अनुभव छ। कुनै बेला जागिर गर्ने नेपालले हाल अरुलाई पनि जागिर दिएका छन्। उनको फार्ममा तीन जना कर्मचारी कार्यरत छन्। फार्मले दैनिक १५  देखि २० किलो टमाटर र डेढदेखि २ सय किलाे तरकारी बिक्रीका लागि लैजान्छ। तरकारीमध्ये गोलभेंडाको उत्पादन अवस्था राम्रो रहेको नेपालले बताए। उत्पादित तरकारी कालिमाटीलगायतका काठमाडौंमा रहेका थोक बजारमा लगेर बेचिन्छ।

नाफाले बजार बनाउने र बढाउने गर्छ भन्ने सिद्धान्त पढेका नेपालले तरकारी खेतीको राम्रो प्रतिफलबाट सहयोगी व्यवसायको रुपमा कुखुरापालनलाई पनि निरन्तरता दिने योजना बनाएका छन्। ‘तरकारीसँगै अहिले ब्रोइलर कुखुरा पनि हालेका छौं,’ उनले भने, ‘भोलिका दिनमा अवस्था राम्रो भयो भने माछा पनि पाल्न सकिन्छ कि भनेर लागिपरेका छौं।’

माछापानलको लागि कृत्रिम पोखरी बनाएर पाल्दा उत्पादन उच्च हुने र काम पनि सजिलो हुने गरेको अनुभव माछापालन गर्ने कृषकहरुको छ। सो अनुभवका आधारमा काठमाडौंको वातावरणमा हुने प्रजातिका उन्नत माछा मूलपानीमा पनि माछापालन गर्न सकिन्छ कि भनेर अध्ययन थालेका छन् उनले। ‘एउटै समय र श्रममा उच्चतम फाइदा लिनको लागि व्यवसायलाई सहयोग हुने अन्य काम गर्दै जाँदा कुखुरा तथा माछाको योजना बनेको हो,’ उनले भने, ‘हेरौं कत्तिको गर्न सकिन्छ।’

कोरोना महामारी धेरैलाई काल बनेर आए पनि शंकरलाई भने एउटा राम्रो पाठ बनेको छ। लकडाउनमा बनिबुतो गर्न आत्तिएर गरेको यस कामले ‘जीवनमा ठूलो पाठ पढाएको’ उनी बताउँछन्। ‘पढेर भन्दा पनि परेर गरेको कामले कठिन अवस्थामा साथ दियो,’ उनले भने।

अब अहिले सिनेमा हल खुल्न थालेका छन्। तेह्र वर्ष पुरानो स्टाफलाई कम्पनीले नबोलाउने कुरै भएन। कोरोना महामारीले गराएको लकडाउनअघि म्यानेजरमा सीमित शंकर नेपालको परिचय कोरोना मत्थर भएर व्यवसाय पुनः सुचारु हुँदा बदलिएको छ। अब उनी सिनेमा हलको मात्रै होइन आफ्नै व्यवसायको पनि म्यानेजर हुन्।

प्रकाशित: Nov 16, 2021| 08:05 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्