शुक्रबार, जेठ १, २०८३

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

तनहुँ- पृथ्वीराजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो।

National life

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। एसियाली विकास बैंक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ।

‘सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण धमाधम भइरहेको छ,’ उनले भने, ‘व्यास नगरपालिका–१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी भइरहेको छ।’

भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपैयाँको बृहत् गुरुयोजनाअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसंग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सडक कालोपत्र, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको हो। आयोजनाले भौतिक विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणलाई स्थानीय समितिको सहकार्यमा निर्माणकार्य धमाधम भइरहेको छ। विसं २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको लाइफ लाइन मानिने राजमार्गको नमूना विस्तारका रूपमा हेरिएको छ। 

प्रकाशित: May 15, 2026| 08:57 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्