काठमाडौं- काठमाडौं उपत्यकालगायत देशभर विस्तारै चिसो बढिरहेको छ। चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखिने गर्छन। जाडो मौसममा विशेषगरी रुघाखोकी, श्वासप्रश्वासका बिरामीको संख्या बढ्ने गरेको छ। जाडो मौसममा बालबालिकालाई विशेषगरी श्वासप्रश्वासको समस्या देखिने हुँदा सचेत हुनुपर्छ।
चिसोका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्याहरु रुघाखोकी, निमोनियाजस्ता समस्या बढी देखिन्छन्। जाडो मौसममा बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।
बालबालिकालाई जाडोमा कसरी स्याहार गर्ने?
जाडो मौसममा साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि बालबालिकालाई धेरै रोगबाट सहजै बचाउन सकिन्छ। तर, तिनै हामीले साधारण कुरा भनेर ध्यान दिएका हुँदैनौ।
बच्चालाई न्यानो पार्ने तर नगुम्साउने
जाडो मौसममा विशेषगरी चिसोबाट बचाउन बालबालिका लाई गुम्साउनेगरी कपडा लगाएदिने गरिन्छ। यसो गर्नु बालबालिकाका लागि त्यति फाइदाजनक मानिँदैन। यसरी कपडा गुम्साएर राख्दा पसिना आउने र सोही पसिना चिसो भएर स्वास्थ्य समस्या देखा पर्न सक्छ। यदि बालकालिकामा पसिना आएमा भित्री कपडा परिवर्तन गरिदिनु पर्छ।
कोठाको तापक्रममा ध्यान दिने
रातिको समयमा कोठाको तापक्रममा ध्यान दिनु पर्छ। सकभर कोठाको तापक्रम १५ देखि २० डिग्रीसम्म राख्नु पर्छ। कोठामा बाक्लो पर्दा लगाउने, हिटर बाल्ने गर्नुपर्छ। विद्युतको हिटर राम्रो मानिन्छ तर, यदि केरोसिनको हिटर बालेमा भेन्टिलेसन राख्नु पर्ने हुन्छ।
नवजात शिशुको लागि
नवजात शिशुको लागि आमाको छातीमा टाँसेर राख्ने। जसलाई कङ्गारु मदर केयर भनिन्छ। झोलिलो खाने कुरा खान दिनेः जाडो मौसममा बालबालिका लाई तातो झोलिलो खानेकुरामा जोड दिनुपर्छ। जाडो मौसममा फलफूलले चिसो हुन्छ भन्ने भ्रम मात्र हो। तर, चिसो समयमा भने फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ।
घाममा राख्ने
चिसोबाट बचाउन बालबालिकालाई घाममा राख्नु पर्छ। घाममा राख्ने भन्दैमा बिहानको चिसो समयमा भने राख्नु हुदैन। घाममा पािरलो घाम लाग्ने समय बिहान १० बजेदेखि १ बजेसम्मको अवधिमा राख्नु पर्छ। साथै घाममा राख्दा तेल लगाइदिनु बालबालिकाका लागि धेरै लाभदायक मानिन्छ।