नयाँ दिल्ली- भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या धेरै कम देखिएको छ। सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय संक्रमित रहेका छन्। उनीहरुका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन्।
कुल संक्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय संक्रमित रहेका छन्, यो संख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ।
गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण थप १२५ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ६३ हजार ६५५ रहेको बताइएको छ। भारतमा गत २४ घण्टामा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस सुरु भए यता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ।