काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई फिल्म हेर्नका लागि नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले निम्ता दिएका छन्।
मन्त्री आले र राजदूत गोडेरबीच आइतबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोडेरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रणा दिएका हुन्।
मन्त्री आले र राजदूत गोडेरबीच इजरायल र काठमाडौंबीच सिधा हवाई उडान सञ्चालन गर्ने विषयमा छलफल भएको छ। मन्त्री आले र राजदूत गोडेरबीच आइतबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा इजरायल र काठमाडौंबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने गोडेरले आश्वासन दिए। सोही क्रममा राजदूत गोडेरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी दिएका छन्।
सो अवसरमा मन्त्री आलेसँग राजदूत गोडेरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए। यसैगरी राजदूत गोडेरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका थिए।
राजदूत गोडेरसँग मन्त्री आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको बताएका थिए। नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हर्वाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोडेरलाई आश्वासन दिए।