मनिला- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन्। आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन्।
राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराएको बताइएको छ। उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम दिन उनले उम्मेदवारी दर्ता गराएका हुन्।
७६ वर्षीय डुटेर्टेले पीडीडीएस पार्टीको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति डुटेर्टेले अघिल्लो हप्ता सक्रिय राजनीतिबाट आफूले बिदा लिन लागेको सार्वजनिक रुपमा घोषणा गरेका थिए।
आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिएर प्रतिस्पर्धा नगर्ने दाबीसमेत उनले गरेका थिए। उनी यसअघि सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। त्यो कार्यकाल आगामी सन् २०२२ को जुन ३० मा सकिन लागेको छ।
फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई फिलिपिन्सको राष्ट्रपतिमा ६ वर्षे एक कार्यकाल मात्रै जिम्मेवारी लिन पाउने व्यवस्था गरेको छ।
नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा आगामी सन् २०२२ को मे ९ तारिखमा निर्वाचन हुन लागेको छ।