काठमाडौं- फ्रान्समा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई मानार्थ नागरिक (अनरी सिटिजन) पदवीले सम्मान गरिएको छ। फ्रान्समा भइरहेको मेयरहरूको सम्मेलनमा भाग लिनपुगेका मेयर महर्जनलाई एक कार्यक्रमका बीच लामोद गोवास नगरले पदक र प्रमाणपत्रका साथमा उक्त सम्मान प्रदान गरेको हो।
मेयर महर्जनलाई लामोद गोवास नगरले मानार्थ नागरिकबाट सम्मान गरेको पहिलो नेपाली नागरिक तथा नगरका लागि दोस्रो विदेशी नागरिक भएका छन्। मेयर महर्जनसहित नेपाल–फ्रान्स मैत्री सङ्घका अध्यक्ष विनोद खकुरेललाई पनि उक्त नगरले पदकका साथमा सम्मान गरेको छ।
मेयर महर्जनले त्यस क्षेत्र (हिमाली क्षेत्र) का जनप्रतिनिधिसँग भेटघाट तथा छलफल पनि गरेका छन्। साथै, उनले एक नेपालसम्बन्धी प्रदर्शनीमा सहभागिता जनाएका छन्। प्रदर्शनीमा स्थानीय कलाकारहरूले नेपालसम्बन्धी मूर्ति, चित्रकला तथा अन्य विविध सामग्रीहरू प्रदर्शनमा राखेका थिए।
पेरिसमा नोभेम्बर १६ बाट हुन गइरहेको मेयरको सम्मेलनमा भाग लिन महर्जन फ्रान्सका मेयर संगठनका अध्यक्ष फँस्वा बार्रवाको निमन्त्रणामा महर्जनसहितको तीन सदस्यीय टोली फ्रान्स पुगेका हो। मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रको भ्रमण गर्ने तथा विभिन्न क्षेत्रका मेयरहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरसँग शिष्टाचार भेटघाट तथा द्विपक्षीय विषयमा छलफल गरेका छन्। उनले नेपाल र फ्रान्सका मेयरहरूको साझा संगठन बनाउन पहल गर्ने जानकारी नेपाल–फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलले दिएका छन्।
फ्रान्समा प्रत्येक वर्ष मेयर सम्मेलन हुने गरेको छ। यो १०३औं मेयर सम्मेलन हो। फ्रान्सका मेयरहरूको संगठनमा त्यहाँका करिब ३३ हजार मेयरहरू आबद्ध छन्। नेपालको तर्फबाट पहिलोपटक सो सम्मेलनमा भाग लिन ललितपुर महानगरपालिकाका मेयर महर्जन तीन सदस्यीय टोलीमा साथमा फ्रान्स पुगेका हुन्।
फ्रान्स बसाइका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरू तथा अन्य उच्च ओहदाका व्यक्तित्वहरूसँग भेटघाट गर्नेछन्। साथै, विभिन्न ठाउँ तथा पर्यटन क्षेत्रहरूको भ्रमण तथा अवलोकन पनि गर्नेछन्।