काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायको रथलाई जनताको सेवामा निर्बाध गुडाइरहन चुनौती खडा भएको बताएका छन्। उनले यस्तो अवस्थामा न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवको साझा दायित्व रहेको पनि बताए।
जबराले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘न्यायको एकै रथका दुई पांग्रा रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्बाध गुडाइरहनुपर्ने चुनौती हाम्रासामु खडा भएको छ।’
उनले प्रधानन्यायाधीशका रूपमा आफ्नो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एसोसिएसन र यसका एकाइहरूबाट पनि अपेक्षा गरिएको बताएका छन्। उनले भनेका छन्, ‘वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वानसमेत गर्दछु।’
जबराले कानुन र संविधानको व्याख्यामा उठेका वा उठ्न सक्ने विवादको निरूपण गर्ने राज्यको अंगका रूपमा न्यायपालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘आज न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ सोझिएका छन्। जनताले विश्वासको शिरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरूको साझा दायित्व हो।’
‘मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केही हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन्।’
उनले अहिलेको गम्भीर परिस्थितिलाई दृष्टिगत गर्दै न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। जबराले भनेका छन्, ‘माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वंयले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छु।’
उनले यसमा सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प नरहेको पनि औंल्याएका छन्। उनले भनेका छन्, ‘मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केही हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन्।’
जबराले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकाय एकताबद्ध हुनुपर्ने खाँचो रहेकोमा जोड दिएका छन्।
जबराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो।’
‘हामी सबैको आशा र भरोसाको केन्द्रका रूपमा रहेको न्यायपालिकामाथि यस प्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।’
उनले सर्वोच्च अदालत आमजनताले न्याय पाउने अन्तिम पवित्र संस्थामा एकोहोरो प्रहार भइरहँदा सबैलाई क्षति पुग्ने भएकाले यसतर्फ संवेदनशील हुन पनि अपिल गरेका छन्।
जबराले भनेका छन्, ‘हामी सबैको आशा र भरोसाको केन्द्रका रूपमा रहेको न्यायपालिकामाथि यस प्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।’
यस्तै सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको र यसले समग्र राष्ट्रलाई समेत मर्माहत र दुःखित बनाएको जनाएका छन्।
पछिल्ला घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको महान् विरासतमाथि प्रश्न उठेको भन्दै उनले अब त्यसका सम्भावित दूरगामी प्रभावको कल्पना मात्रले पनि सबैको हृदय कम्पित हुनुपर्ने बताएका छन्। राणाले भनेका छन्, ‘यसले न्यायापालिका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ।’
जबराले संविधानले न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकका रूपमा रेखांकित गरेको पनि स्मरण गराएका छन्। उनले भनेका छन्, ‘तसर्थ विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्दछ।’ प्रधानन्यायाधीश जबराले अब एकमात्र उपाय संवाद मात्र रहेको जनाएका छन्। उनले भनेका छन्, ‘तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु।’
विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको माग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु।’
उनले न्यायपालिकाले सधैंभरि विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात् गर्ने पनि बताएका छन्। ‘विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयास कहींकतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ’, जबराले भनेका छन्। यस क्रममा जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयगम गर्नुपर्नेमा उनले जोड दिएका छन्। राणाले भनेको छन्, ‘यसको निर्बाध कार्यान्वयनतर्फे हामी सबैको दायित्व रहनुपर्दछ।’
प्रधानन्यायाधीश राणाले कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो गरी एकअर्काको परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको विगत पनि स्मरण गरेका छन्।
उनले भनेका छन्, ‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीबाट समाधानको सम्भावना खोज्न सकिन्छ।
विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको माग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु।’
प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका तर्फबाट मिति २०७८।७।२५ मा सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना कार्यक्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘उक्त घटनामा नेपाल बार एसोसिएसनका महासचिव लगायत केही कानुन व्यवसायीलाई चोटपटक लागेको भन्ने जानकारीमा आएको हुँदा उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु।’ जबराले यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गरेका छन्।
विज्ञप्तिको पूर्ण पाठ
नेपाल बार एसोसिएसनको तर्फबाट मिति २०७८।७।२५ मा सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना कार्यक्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु। साथै, उक्त घटनामा नेपाल बार एसोसिएसनका महासचिव लगायत केही कानुन व्यवसायीहरुलाई चोटपटक लागेको भन्ने जानकारीमा आएको हुँदा उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु।
यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गर्दछु।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायतका बार इकाइहरु न्यायपालिकाको अभिन्न अंग हुन्। वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वानसमेत गर्दछु।
कानुन र संविधानको व्याख्यामा उठेका वा उठ्न सक्ने विवादको निरूपण गर्ने राज्यको अंगका रूपमा न्यायपालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास हो। आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन्।
जनताले विश्वासको शिरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरूको साझा दायित्व हो। नेपालको प्रधानन्यायाधीशका रूपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एसोसिएसन र यसका एकाइहरूबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन। न्यायको एकै रथका दुई पांग्रा रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्बाध गुडाइरहनुपर्ने चुनौती हाम्रासामु खडा भएको छ।
यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छु। सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प देखिँदैन।
मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केही हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो।
सर्वोच्च अदालत आमजनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो। यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन्। हामी सबैको आशा र भरोसाको केन्द्रका रूपमा रहेको न्यायपालिकामाथि यस प्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।
सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्ट्रलाई समेत मर्माहत र दुःखित बनाएको छ।
यसबीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको हाम्रो महान् विरासतमाथि जसरी प्रश्न उठेको छ, त्यसका सम्भावित दूरगामी प्रभावको कल्पना मात्रले पनि हाम्रो हृदय कम्पित हुनुपर्दछ। यसले न्यायापालिका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ अर्कोतर्फ हामीले बिर्सने नहुने पक्ष के छ भने हाम्रो संविधानले न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकका रूपमा रेखांकित गरेको छ।
तसर्थ विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्नु कुनै दुईमत रहनुपर्ने विषय होइन। यसको एकमात्र उपाय संवाद मात्र रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु।
न्यायपालिकाले सधैंभरि विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कहींकतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ। जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयगम गरी यसको निर्बाध कार्यान्वयनतर्फे हामी सबैको दायित्व रहनुपर्दछ।
कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो गरी एक अर्काको परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछु।
पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीबाट समाधानको सम्भावना खोज्न सकिन्छ। विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी सवादको माग रोजौ भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु।
कार्तिक २९, २०७८
चोलेन्द्रशमशेर जबरा
प्रधानन्यायाधीश
प्रकाशित: Nov 15, 2021| 12:32 सोमबार, कात्तिक २९, २०७८