मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालको फेदीबाट हिमपहिरो झरेको छ। हिमपहिरोबाट बच्नका लागि भागदौड हुँदा ११ जना घाइते भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरी रेन्जबाट खसेको माटोसहितको हिमपहिरोले बोक्सी खोलामा आएको बताए।
माथिबाट हिमपहिरो आएपछि भागदौड हुँदा ११ जना घाइते भएको उनले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए।
'हिमपहिरो आएपछि भागदौड हुँदा स्थानीय विद्यालयका शिक्षक र विद्यार्थी भागदौड गर्दा ११ जना घाइते भएका छन्। पशुचौपायाको क्षतिको विवरण प्राप्त हुन बाँकी छ,' प्रजिअ शर्माले भने।
हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको थियो।
हिमपहिरोपछि मानापाथी र टुक्चेपिक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको सहत बढेको बताइएको छ।