काठमाडौं– सामान्यतया दक्षिण अमेरिकाबाट युरोप आएर उत्कृष्ट समय बिताएपछि जो दक्षिण अमेरिका फर्किएका छन्, ती खेलाडीको खेल जीवन दक्षिण अमेरिकामै अन्त्य हुन्छ। काकादेखि रोनाडिन्हो हुँदै फिलेपे लुइससम्मका खेलाडीहरुको खेल जीवनले त्यसै भन्छ।
तर, सबैको कथा एकैनासको कहाँ हुन्छ र? दक्षिण अमेरिकी खेलाडीको चर्चा गर्ने हो भने फरक कथा डानी आल्भेसले लेख्दैछन्। फरक यस अर्थमा कि एकपटक युरोपेली फुटबलमा राज गरिसकेका विश्वका उत्कृष्ट राइट ब्याक डानी ३८ वर्षको उमेरमा पुनः युरोप फर्किएका छन्। सामान्यतया ३८ वर्ष भनेको फुटबल खेलाडीका लागि संन्यास लिने उमेर हो। भलै ३८ वर्षमाथिका केही खेलाडी अहिले पनि खेलिरहेका छन्। तर, युरोपमा खेल्न आउने उमेर ३८ वर्षको हुँदै, होइन। न खेलाडीका लागि त्यो उपयुक्त उमेर हो, न त क्लबहरुले त्यो उमेरका खेलाडी अनुबन्ध गर्छन्। जे होस्, आल्भेसका हकमा भने यो नियम लागू भएन। र, त बार्सिलोना छोडेको पाँच वर्षपछि उनी क्याम्प नाउ फर्किएका छन्।
उनलाई शुक्रबार मात्र बार्सिलोनाले फ्रि ट्रान्सफरमार्फत दोस्रोपटक अनुबन्ध गरेको छ। पेप ग्वार्डिओला (हाल म्यानचेस्टर सिटीका प्रशिक्षक) बार्सिलोनाको प्रशिक्षक भएलगत्तै बार्सिलोना आएका उनी पूर्व सहकर्मी जाभी हर्नान्डेज प्रशिक्षक भएपछि पुनः बार्सिलोना फर्किएका छन्। त्यो पनि जाभीको पहिलो ‘साइनिङ’का रुपमा। पहिलो पटक उनी सेडु केइटा र जेरार्ड पिकेसँगै बार्सिलोना प्रवेश गरेका थिए।
‘म बार्सिलोना फर्किएको छु, जुन मेरो घर हो। म बार्सिलोनामा खेल्न र टिमलाई पुनर्निर्माण गर्नका लागि सहयोग गर्नेछु। जसलाई हामी औधी माया गर्छौं,’ बार्सिलोनाले अनुबन्ध पछि सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा आल्भेसले भनेका छन्।
दक्षिण अमेरिकी खेलाडीको चर्चा गर्ने हो भने फरक कथा डानी आल्भेसले लेख्दैछन्। फरक यस अर्थमा कि एकपटक युरोपेली फुटबलमा राज गरिसकेका विश्वका उत्कृष्ट राइट ब्याक डानी ३८ वर्षको उमेरमा पुनः युरोप फर्किएका छन्।
आल्भेस तिनै खेलाडी हुन्, जसले विश्वका सबै फुटबलरमध्ये धेरै उपाधि जितेका छन्। उनी संसारकै सबैभन्दा स्टाइलिस फुटबलर पनि हुन्। उनको खेल्ने शैली, उनले मैदान र ड्रेसिङ रुममा गर्ने हँसिमजाक र उपाधि जित्ने भोकले त्यस्तै भन्छ। केही महिना अघिमात्र ब्राजिलको ओलम्पिक टिमको कप्तानी गरेका आल्भेसले जापानमा स्वर्ण जित्दै ४३ औं उपाधिमा आफ्नो नाममा लेखाएका थिए।
खेलाडी जीवनको उत्तरार्धमा पनि सक्रिय रुपमा फुटबल खेलिरहेका भनेर पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको खुब चर्चा गरिने गरेको छ। ती खेलाडीमध्येमा स्विडेनका ४० वर्षे फरवार्ड ज्वालटन इब्राहिमोविच पनि पर्छन्। तर पछिल्लो समय युरोपबाट बसाइँ सरेर ब्राजिलियन लिग खेलिरहेका आल्भेसको चर्चा भने कम हुने गरेको थियो। तर, उनी विश्वले बिर्सन नसक्ने फुटबलर हुन्। बार्सिलोनाले ३८ वर्षको उमेरमा पनि उनलाई क्लबमा फर्काउनुले पनि त्यो सिद्ध गरेको छ।
उनी बार्सिलोना फर्किने भएपछि क्याटलान समर्थकले उनलाई दिल खोलेर स्वागत गरेका छन्। पछिल्लो समय कप्तान मेस्सीले सिनियर खेलाडीको हिसाबमा बार्सिलोनाका नयाँ पुस्तालाई हौसला प्रदान गरिरहेका थिए। खेलाडीका लागि प्रेरक मेस्सीले बार्सिलोना छोडेपछि क्लबमा सक्षम लिडरको अभाव छ। त्यस्तै, आल्भेसले क्लब छोडेपछि बार्सिलोनाको राइट ब्याकको गहिरो खाडल देखिएको थियो। यो पाँच वर्षमा बार्सिलोनाले त्यो खाडल पुर्न सकेको थिएन। अर्थात् २०१६ मा उनले बार्सिलोना छोडेपछि क्याटलान क्लबले त्यो ठाउँका लागि उचित प्रतिस्थापन भेटाउन सकेको थिएन।
अहिले सर्जिनो डेस्टको अनुपस्थितिमा त्यो राइट ब्याकमा मिडफिल्डर ओस्कार मिन्गुएजा र सेन्ट्रल डिफेन्डर सर्जी रोबर्टो खेल्दै आइरहेका थिए। तर, पाँच वर्षपछि आल्भेसको प्रतिस्थापन आल्भेस नै भएका छन्। यो प्रतिस्थापनले डेस्टको टाउको दुखाइ भने निश्चित छ।
बार्सिलोनामा यसअघिका डच प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा क्लबले खासै प्रगति गर्न नसकेपछि बोर्डले उनलाई बर्खास्त गर्यो। कोम्यानलाई पूर्वकप्तान जाभी हर्नान्डेजले प्रतिस्थापन गरेका छन्।
जाभी आएपछि के भइरहेको छ बार्सिलोनामा?
क्लबका अध्यक्ष जोन लापोर्टा र बोर्डले उनलाई क्लब निर्माणको चाबी दिन राजी भएको छ। उनले अब खेलाडी अनुबन्धका साथै मेडिकल डिपार्टमेन्टको पनि सुधार गर्न सक्नेछन्। त्यसकै नतिजा होे कोम्यानले राखेका दुई मेडिकल स्टाफलाई गरिएको बर्खास्ती। त्यो किनभने उनी आफ्ना विश्वासी सहकर्मीको वरिपरि रहन चाहन्छन्। र, उनी बार्सिलोनाका स्टाफको क्षमता वृद्धिमा पनि सहयोग गर्न चाहन्छन्।
जाभीले सुरुमै डानी भित्र्याएपछि सबैलाई थाहा भएको छ– पूर्वकप्तान अब बार्सिलोनाको प्रशिक्षक मात्र होइनन्। त्यसभन्दा धेरै हुन्। डानी आल्भेसकोको कुरा गरिरहँदा ब्राजिलकै अर्का खेलाडी फलिपे काउटिन्हो भने बार्सिलोनामा फ्लप खेलाडीका रुपमा समय कटाइरहेका छन्। केही समयअघि काउटिन्होको ‘अल्छी खेलाडी’ भनेर आलोचना भएको थियो। त्यसको जवाफमा काउटिन्होले ‘म अल्छी भएको छैन। खेल्नका लागि म कहिल्यै अल्छी गर्दिनँ’ भनेका थिए। यता अर्का ब्राजिली खेलाडी माल्कोम, पाउलिन्होले पनि बार्सिलोनामा गुणस्तरीय समय बिताउन सकेका थिएनन्। सिजनको सुरुवातमा रियल बेटिसबाट अनुबन्ध गरेका राइट ब्याक इमर्सन रोयललाई ट्रान्सफर विन्डो बन्द नहुँदै बार्सिलोनाले टोटनहमलाई बेचेको विषयले पनि बुझ्न सकिन्छ बार्सिलोनामा ब्राजिलियन खेलाडीको अवस्था कस्तो थियो भनेर।
जाभीले सुरुमै डानी भित्र्याएपछि सबैलाई थाहा भएको छ– पूर्वकप्तान अब बार्सिलोनाको प्रशिक्षक मात्र होइनन्। त्यसभन्दा धेरै हुन्।
तर, जाभीको प्रशिक्षकका रुपमा पुनरागमन र आल्भेसको फिर्तीले बार्सिलोनाका समर्थक उत्साही बनेका छन्। अब दोस्रो इनिङमा आल्भेसको प्रदर्शन कस्तो रहला? प्रतिक्षाको विषय बनेको छ। चार दशक टेक्न लागेका फुटबलरले बार्सिलोनाबाट हरेक खेल खेल्न सक्ने अवस्था भने छैन। त्यसमाथि उनले गएको सेप्टेम्बरबाटै साओ पावलोसँग आफ्नो सम्झौता रद्द गरिसकेका छन्। तर उनीबारे कुरा गर्दा यो बिर्सनु हुँदैन कि उनी फुटबल करिअरमा सफल खेलाडी हुन्। उनले बार्सिलोना छोडेपछि पनि लगातार उपाधि जितिरहेका छन्। उनी अब जनवरी विन्डोमा मात्र आधिकारिक रुपमा उनी बार्सिलोनामा प्रवेश गर्न सक्नेछन्। त्यसयता उनी क्लबको सिनियर टिमसँगै अभ्यास गर्नेछन्।
उपाधिका पर्याय
आल्भेस र उपाधि पर्यायवाची जस्तै हुन्। ४३ उपाधि जितेका आल्भेसको अघि–पछि कुनै विशेषण आवश्यक छैन। त्यसैले त उनलाई फुटबल जगतका सबैभन्दा ‘शृंगारिक’ खेलाडीका रुपमा बयान गरिन्छ। व्यावसायिक जीवनतर्फ उनले सबैभन्दा पहिलो पटक २००२ मा कोपा डो नोडेस्टेको उपाधि जिते। त्यतिबेला उनी ब्राजिलको बाहिया क्लबमा दोस्रो सिजन बिताइरहेका थिए।
त्यसपछि उनको यात्रा स्पेनतर्फ मोडियो। सेभियामा उनले पाँच सिजन खेले। त्यहाँबाट उनले एक कोपा डेल रे, एक सुपरकप डि स्पाना, दुई पटक यूईएफए कप र एक सुपर कप जिते।
पाँच वर्षपछि क्याटलोनियन क्लब पुगेका उनले बार्सिलोनाबाट आठ वर्षे यात्रामा ६ ला लिगा जिते, चार कोपा डेल रे, चार सुपर डि स्पाना, चार च्याम्पियन्स लिग, तीन सुपर कप र तीन फिफा क्लब विश्वकप जिते।
बार्सिलोनाबाटै उनले २४ उपाधि जितेका छन्। त्यहाँ उनले ३९१ खेल खेलेका छन्। र, २३ गोल गरे। उनको उपाधि यात्रा बार्सिलोनामा मात्र रोकिएन। बार्सिलोना छोडेर युभेन्टस पुगेका उनले त्यहाँबाट पनि उपाधि जिते। उनले युभेन्टसबाट एक सिजनमै दुई उपाधि जिते– सिरी ए र कोपा इटालीया। इटालीबाट फ्रेन्च क्लब पीएसजी पुगेका उनले त्यहाँ दुई सिजन खेले र ६ उपाधि जिते। दुई पटक लिग वान जिते भने फ्रान्स कप एक पटक जिते। त्यस्तै, एक कप डे ला लिग र दुई च्याम्पियन ट्रफी जिते।
युरोपियन फुटबलमा लामो समय बिताएका आल्भेस दुई वर्षअघि घरेलु क्लबतर्फ लागेका थिए। त्यसपछि ब्राजली क्लब साओ पाउलोबाट उनले एक उपाधि जिते। व्यावसायिक मात्र नभएर एमेच्योर खेलमा पनि उनको कम योगदान छैन। ब्राजिली टिमबाट कोपा अमेरिकाको दुई उपाधि जितेका उनले दुई कन्फेडेरेसन कप पनि जितेका छन्।
र, उनले अहिलेसम्मको अन्तिम उपाधिका रुपमा गृष्मकालिन ओलम्पिक २०२० मा स्वर्ण पदक हो। यसले उनको ४३ उपाधिको गणित पूरा गरेको छ। अब उनको ट्रफी क्याबिनेटमा विश्वकप मात्रै जोडिन बाँकी छ। उमेरको र प्रदर्शनका कारण अगामी वर्ष कतारमा हुने विश्वकपमा उनी खेल्छन् वा खेल्दैनन् टुंगो छैन। यदि उनी खेले र ब्राजिलले उपाधि जिते भने त्यो उनका लागि अद्भूत हुनेछ।
–एजेन्सीहरुको सहयोगमा