काठमाडौं– एक महिनाभन्दा लामो समयदेखि कपिलवस्तुका ६ वटा स्थानीय तहमा हैजा फैलिएको छ। त्यहाँ अहिलेसम्म हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ। कपिलवस्तुका कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा हैजा फैलिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या कार्यालयले जनाएको छ।
गत असोज १८ देखि फैलिएको हैजा अझै पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेपछि सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा खोपको तयारी गरेको छ। डब्लुएचओमार्फत दुई लाख ५२ हजार ३६३ डोज कोलेरा खोप आज (आइतबार) नेपाल ल्याइँदैछ। उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको युनिसेफको सप्लाइ डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याउन लागिएको हो।
एक महिनाभन्दा बढी समयसम्म पनि हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने योजना अगाडि सारेको हो। ‘अहिले पनि कपिलवस्तुमा हैजाका बिरामीहरु भर्ना भइरहेका छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले भने, ‘हालसम्म त्यस क्षेत्रमा १ हजार ३ सयभन्दा धेरै मानिस बिरामी भइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ। अझै केही मानिसको उपचार भइरहेको छ।’
हैजा फैलिएको १ महिना ५ दिन भइसक्दा पनि कपिलवस्तुको शिवराज अस्पतालमा दैनिक ७ जनासम्म बिरामी भर्ना भइरहेका छन्। अस्पतालमा पुग्ने बिरामीको संख्या घटे पनि समुदायमा हैजाको बिरामी रहेको मन्त्रालयको आकलन छ।
सरकारको तर्फबाट गत असोज २१ मा त्यहाँको हैजाको अनुसन्धानमा संलग्न रहेका चिकित्सक शशी कँडेलका अनुसार त्यहाँका मानिसले पिउने पानीमा दिसामा पाइने जिवाणु (इकोलाई) भेटिएको थियो। पानीको १५ वटा नमुना परीक्षण गर्दा १० वटा नमुना पिउने पानीको पाइपको पानी लिइएको थियो भने बाँकी ५ वटा नमुना विभिन्न ह्याण्डपम्पबाट लिइएको थियो। पिउने पानीको १० वटा नमुनामध्ये ५ वटा नमुनामा दिसामा पाइने जिवाणु (इकोलाई) अत्यधिक मात्रामा भेटिएको थियो।
डा. कँडेलका अनुसार त्यहाँका मानिसमा चेतनाको कमी र लापरबाहीले यो अवस्था निम्तिएको हो। ‘घरमा शौचालय छ तर मानिसहरु खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्,’ कँडेलले भने, ‘खुला ठाउँमा दिसापिसाब गर्ने, फोहरमैला तथा ढलको उचित व्यवस्थापन नगर्ने, भुइँमा बिछ्याइएका खानेपानीका पाइपहरु फुटेका थिए, त्यसको मर्मत नै गरेको थिएन। यासले गर्दा दिसाका किटाणुहरु सहजै पानीको पाइपमा प्रवेश गर्ने र सोही पाइपबाट आएको पानी खानाले मानिसलाई झाडापखाला भएको हो। अर्को कुरा मानिसहरुले पानी शुद्धीकरणको विधि नै अपनाएका छैनन्। पानी नउमाली पिउने वा शुद्धीकरण नगरी पिउने, पानीको पाइप विभिन्न ठाउँमा बिग्रिएको, स्वस्थ्य व्यवहार नअपनाइएको आदि कारणले यो रोगको प्रकोप निम्तिएको देखिन्छ।’
हैजा फैलिएको १ महिना ५ दिन भइसक्दा पनि कपिलवस्तुको शिवराज अस्पतालमा दैनिक ७ जनासम्म बिरामी भर्ना भइरहेका छन्। अस्पतालमा पुग्ने बिरामीको संख्या घटे पनि समुदायमा हैजाको बिरामी रहेको मन्त्रालयको आकलन छ।
स्थानीय, प्रदेश र संघ सबै तहले स्थानीयलाई परामर्श दिने, उपचार गर्ने, सरसफाइका लागि पहल गर्ने, पानीको पाइपको व्यवस्थापनमा जोड दिने लगायत काम भएको उनले सुनाए।
हैजा फैलिएको १ महिना ५ दिन भइसक्दा पनि कपिलवस्तुको शिवराज अस्पतालमा दैनिक ७ जनासम्म बिरामी भर्ना भइरहेका छन्। अस्पतालमा पुग्ने बिरामीको संख्या घटे पनि समुदायमा हैजाको बिरामी रहेको मन्त्रालयको आकलन छ।
मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘हामीले दुई लाख ५२ हजार ३६३ डोज खोप पाएका छौं, उक्त खोप आज नेपाल ल्याइँदैछ। हामी एक साताभित्रै खोप कार्यक्रम सञ्चालन गर्छौं। यो खोप कृष्णनगर, महाराजगन्ज, शिवराज, विजयनगर, यशोधरा लगायत पालिकाका जोखिममा रहेको जनसंख्या हेरेर मगाइएको हो।’ हैजाविरुद्धको यो खोप उक्त क्षेत्रका सबै नागरिकलाई दुई मात्रा दिइने उनले बताए। हैजाको खोप विश्व स्वास्थ्य संगठनको भण्डारमा मात्रै रहने भएकाले खोप संगठनसँग माग गर्नुपर्ने अवस्था रहेको पौडेल बताउँछन्।
नेपालमा सन् २००९ मा जाजरकोटमा धेरै मानिसको ज्यान जानेगरी हैजा फैलिएको थियो। बैतडी, डोटी, बाँके र रौतहट लगायतका जिल्लाहरूमा पनि पटकपटक हैजा देखा परेको छ। नेपालमा विभिन्न स्थानमा बेलाबेला हैजाको महामारी देखिने गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक बाबुराम मरासिनी भन्छन्, ‘नेपालमा केही क्षेत्रहरु हैजा फैलिने पकेट क्षेत्रको रुपमा छन्। तर त्यहाँ कहिले देखिन्छ भन्न सकिँदैन। कुनै ठाउँमा एकपटक हैजा नियन्त्रणमा आए पनि फेरि १५–२० वर्षपछि देखिन सक्छ, त्यसैले हैजा नियन्त्रणको लागि राम्रो संयन्त्र बनाउनुपर्छ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ४० लाखसम्म मानिसलाई हैजा भएको हुन सक्छ। हैजाका कारण १ लाख ४३ हजारको मृत्यु हुने आकलन छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा हैजालाई ९० प्रतिशतभन्दा कम गर्ने लक्षका साथ काम गरिरहेको छ।
चिकित्सकका अनुसार हैजा भएको अवस्थामा केही घण्टाभित्रै शरीरको पानी अत्यधिक मात्रामा खेर जाने र जलवियोजन भएर मानिसको मृत्यु हुन्छ। यस्तो अवस्थामा जीवनजल एकदमै महत्वपूर्ण कुरा हो। त्यसैले झाडापखाला भएमा एक लिटर उमालेर सेलाएको वा शुद्धीकराण गरेर राखिएको पानीमा जीवनजल पटक–पटक खाइरहनुपर्छ। हैजाबाट बच्न सरसफाइमा ध्यान दिने, खुला चौरमा दिसापिसाब नगर्न, केही खानु भन्दा अगाडि साबुन पानीले राम्रोसँग हात धोएर मात्र खान र पानी उमालेर तताएर पिउन मन्त्रालयले अनुरोध गरेको छ।