काठमाडौं– सर्वोच्च अदालतको मुख्य गेट अगाडि प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्वोच्च बारको आह्वानमा भएको विरोध प्रदर्शनमा उत्रिएका गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ उनीहरु सर्वोच्च अगाडि भेला भएका थिए।
अवरोधका बाबजुद प्रधानन्यायाधीश भने सर्वोच्च अदालत प्रवेश गरेका छन्। गएको शुक्रबारजस्तै आज पनि प्रधानन्यायाधीश अतिरिक्त गेटबाट सर्वोच्च प्रवेश गरेका हुन्। वकिलहरुले भने नाराबाजी गरिरहेका छन्।
प्रहरीको अवरोधका बाबजुद आन्दोलनरत वकिलहरु सर्वोच्च परिसरमै पुगेका थिए। एक नम्बर गेटमा प्रहरीले कानुन व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ। उनीहरु अर्को मुख्य गेटमा धर्नामा बसेका छन्। उनीहरुले राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।
बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेको लगायत अभियोग प्रधानन्यायाधीश राणामाथि लागेको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलित नेपाल बार एसोसिएसनले पनि आज सर्वोच्च अदालतका दुवै गेटमा धर्ना दिने कार्यक्रम तय गरेको थियो। जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिएको हो।
शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिएको हो। शुक्रबार भएको धर्नामा तनावको अवस्थासमेत सिर्जना भएको थियो।
जबराको राजीनामा माग गर्दै धर्नामा बसेका पदाधिकारीमाथि बिहीबार पनि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनले स्पष्ट पारेको छ।