काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले भरोसा गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन्। जनताको आशाको पार्टी भएकाले कांग्रेसले पनि जनविश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्यतिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताएका हुन्।
१४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ। देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताउँदै उनले स्व लामाको प्रशंशा गरेका थिए।
जिल्ला सभापति एवम लामाका श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङ, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गिय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताएका थिए। उनको नाममा स्मृति भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो।