विराटनगर- विराटनगरमा खुल्ला शारीरिक व्यायामशाला सञ्चालनमा आएको छ। नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी)ले शनिबारदेखि विराटनगरमा औपचारिक रुपमा खुल्ला व्यायामशाला सञ्चालनमा ल्याएको हो।
एनवाईएफसीले विराटनगरमा सञ्चालनमा ल्याएको यो क्यालिस्थेनिक्स्'को पाचौँ व्यायामशाला हो। यसअघि बुटवल, नेपालगञ्ज, चितवन र पोखरामा सञ्चालनमा आइसकेको र त्यहाँका स्थानीयको चासोका कारण व्यायामशालालाई विराटनगरमा पनि विस्तार गरिएको क्यालिस्थेनिक्स्'का केन्द्रीय अध्यक्ष सुकदेव कार्कीले बताए।
'सरकारको खुल्ला व्यायामशाला बनाउने नीति अनुसार एनवाईएफसीले खुल्ला व्यायामशाला निर्माण गरी अभ्यासका काम शुरु गरेको हो,' उनले भने,'देशका सहरी क्षेत्रमा व्यायामशाला खुल्नुपर्छ। झापाको विर्तामोडमा पनि चाँडै व्यायामशाला सञ्चालनमा ल्याउँदै छौँ।'
विराटनगर १९ मा ५ महिनाअघि नै खुल्ला व्यायामशाला निर्माण गरी शारीरिक अभ्यासका गतिविधि सञ्चालन गरिँदै आइएको भएपनि शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको एनवाईएफसी विराटनगरका संस्थापक अध्यक्ष सुमन बञ्जराले बताए। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायामशाला सहयोगी हुने विश्वास आफूहरूलाई भएको उनको भनाइ छ। यूवालाई लागू पदार्थको दुर्व्यसनबाट बचाउन खुल्ला व्यायामशालाले महत्वपूर्ण भूमिका खेल्ने बञ्जराले उल्लेख गरे।
युवाको व्यायाम सीपलाई एनवाईएफसीको फ्लेटफर्म मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि प्रोत्साहनको काम गरिने उनले बताए। ‘विराटनगरका सवै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने लक्ष्य छ। स्थानीय तहसँगको सहकार्यमा सबै वडामा पुग्ने योजनामा छौँ,' उनले भने, 'खुल्ला व्यायामशाला सञ्चालनमा आएपछि कुलतमा फसेका यूवाहरुमा पनि उल्लेख्य सुधार आएको पाएका छौँ। यसले हामीलाई उत्साहित बनाएको छ।'
शुरुमा १६ जनाबाटबाट एनवाईएफसीले शारीरिक अभ्यासको कार्य शुरु गरेको थियो। अहिले १ सयभन्दा बढी युवायुवती नियमित अभ्यासमा आउने गरेको उनले बताए। क्यालिस्थेनिक्समा विराटनगर बाहिरका पनि यूवाहरुको आकर्षण बढिरहेको उनको भनाइ छ।
खुल्ला व्यायामशाला निर्माणका लागि आवश्यक सहयोग गर्ने विराटनगर महानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख भीम पराजुलीले बताए। उनले सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने महानगरको नीति रहेको बताएका थिए। प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी नवीनराज राईले शारीरिक स्वास्थ्यका लागि व्यायामशाला महत्वपूर्ण हुने बताए।
उद्घाटनकै दिन ७२ जनाबीच प्रतिस्पर्धा
खुल्ला व्यायामशाला उद्घाटनका अवसरमा आयोजित प्रतिस्पर्धामा विराटनगर महानगरका ७२ खेलाडीले सहभागिता जनाएका छन्। सेफर्ड कलेज काठमाडौंसँगको सहकार्यमा आयोजित प्रतियोगितामा ५५ किशोर र १७ किशोरी सहभागी भएका थिए। खुल्ला उमेर समूहबीचको प्रतिस्पर्धामा खेलाडीको उत्साहजनक सहभागिता रहेको थियो।
५ विधामा भएको प्रतिस्पर्धामा पुल अप २० पटक, पुस अफ ३० पटक, फार्मर क्यारी, टायर फ्लिप र ४ सय मिटर दौडमा समावेश थियो। ५ वटै विधा ३ मिनेट २९ सेकेन्डमा पूरा गर्दै हेमन्त तामाङ प्रथम भएका थिए। उनले नगद ५ हजार र आकर्षक गिफ्ट हाम्पर प्राप्त गरे।
प्रतियोगितामा रोशन राई दोश्रो भए। उनलाई सबै विधा पुरा गर्न ३ मिनेट ३५ सेकेन्ड लागेको थियो। राईले नगर ३ हजार र गिफ्ट हाम्पर प्राप्त गरे।
यस्तै केशव थापा मगर तेश्रो भए। उनले ३ मिनेट ५४ सेकेन्डमा खेल पूरा गरे। नगर नगद २ हजार र गिफ्ट हाम्पर प्राप्त गरे।
महिलातर्फ रमिताकुमारी कुँवर प्रथम भइन्। निर्धारित खेल उनले ४ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन्। उनले नगद ५ हजार र आकर्षक गिफ्ट हाम्पर प्राप्त गरिन्। प्रतियोगितामा सन्देशा कटुवाल दोस्रो भइन्। उनले ४ मिनेट ४ सेकेन्डमा खेल पूरा गरिन्। यस्तै निर्धारित ५ वटै खेल ४ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पवित्रा कार्कीले तेस्रो स्थान हासिल गरिन्। दोश्रो र तेश्रोले क्रमशः नगद ३ हजार र २ हजारसहित गिफ्ट हाम्पर प्राप्त गरे।
प्रतियोगिताका विजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एनवाईएफसीका केन्द्रीय अध्यक्ष सुकदेव कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए।
तस्बिरहरू