काठमाडौं- नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग राखेका छन्। आफूहरूको माग सम्बोधन नभए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका हुन्।
सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिए।
उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई लिखित रूपमै उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभई सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे।
‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशनहरू खारेज गरी नयाँ अधिवेशनको मिति तय गरि दिनका लागि नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय कार्यसमितिमा सप्रमाण उजुरी मात्रै पेस गरेनौं। ११ दिनसम्म नेपाली कांग्रेसको कार्यालय डडेल्धुरामा सिंगो पार्टी अनसन पनि बसेका थियौँ, तर अझै हाम्रो मागमा सुनुवाइ हुने प्रक्रिया थालिएको छैन। पुनः अधिवेशन नभए सानेपालमा धर्ना बस्न बाध्य हुनेछौँ,' उनले भने।
सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइ समेत नगरेको भन्दै आपत्ति जनाएका छन्। सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरू हुने तर डडेलधुरामा किन नहुने भन्दै पार्टीका केन्द्रीय सभापति देउवा र केन्द्रीय निर्वाचन समितिलाई प्रश्न समेत गरेका छन्।
नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लाहरूमा शनिबार सुरू भएको छ। नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।