काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारलाई जाँडरक्सी नखान निर्देशन दिएका छन्।
अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन्। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरेका हुन्।
‘तपाइहरूमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटेल धाइधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला। यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन। तपाईंको स्वास्थ्यलाई पनि काम गर्छ। म सुझाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ। आयु घटाउँछ, रोग निम्त्याउँछ', उनले भने।
उनले रक्सी सेवनले पैसाको दुरुपयोग हुनुका साथै घर कलह निम्त्याउने बताए। त्यसपछि त्यस्ता खराब बानीव्यहोरा छोराछोरीमा जाने डर हुने अध्यक्ष नेपालको भनाइ छ। 'रक्सी खाने व्यक्तिको प्रतिष्ठा बढ्दैन। बिहान उठ्ने बित्तिकै एक प्याक ल्याऊ भन्नेहरू हुन्छन्। त्यस्तो ठिक हुँदैन', उनले भने।
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारलाई आग्रह गरेका छन्। उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे। त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालले बताएका छन्।