काठमाडौं- म्यानमारको एक सैन्य अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ। फेनस्टरलाई आप्रवासन कानुन तोडेको र सेनाविरुद्ध असन्तुष्टि प्रोत्साहित गरेको भन्दै ११ वर्षको जेल सजाए सुनाइएको हो।
यसै हप्ता उनीविरुद्ध देशद्रोह तथा आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ। यो प्रकरणमा अधिकतम सजाय आजीवन कारावास रहेको बताइएको छ। नयाँ आरोपको फैसला अझै आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अनलाइन न्युज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक फेनस्टरलाई मे महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको थियो। उनका वकिल थान जा आंगले फेनस्टरलाई झुटा तथा भड्काउने खालका समाचार फैलाएको आरोपमा गिरफ्तार गरिएको बताए।
उनलाई प्रत्येक आरोपमा अधिकतम अवधिको सजाए सुनाइएको छ। फेस्टरलाई झैँ यस वर्ष म्यानमारमा थुप्रै पत्रकारलाई फेब्रुअरीमा भएको सैन्य शासनपछि हिरासतमा लिइएको छ।