बुटवल- जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ। तीन दशकदेखि रक्तिम साँस्कृतिक अभियानमा सामेल भएर जनवादी गीतमा स्वर दिएकी गायिका गुरुङको उपचारका क्रममा बिहीबार राती निधन भएको हो।
लामो समयदेखि दम रोगबाट ग्रसित गुरुङको उपचारका क्रममा यूनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको परिवारले बताएका छन्।
लामो समयदेखि दम रोगबाट ग्रसित ६० वर्षीया गुरुङलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बिहीबार भैरहवा मेडिकल कलेजमा लगिएको थियो। दम र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
बुटवल चाँदबारीमा घर भएकी गुरुङले रक्तिम जनगिती यात्रा भाग ४ बाट निरन्तर स्वर दिँदै आएकी थिइन्। रक्तिममा पुरुषमा जीवन शर्मा र महिला स्वरमा गुरुङको स्वर अनिवार्य जस्तै भएको थियो।
गुरुङले गाएका उत्तरबाट बादल आउदा, ‘यो मेरो जिवन’, ‘नेपाली माटोमा फुलेको फुल’, ‘परदेशीको सपना’, ‘सामान्तले नौ जाल वुन्छ’ लगायतका बोलहरु चर्तित छन्। उनी राष्ट्रिय जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय सल्लाहकार हुन्।