काठमाडौं- पाँच पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो। १० टोली सम्मिलित जारी दक्षिण अमेरिकी छनोटमा ३४ अंकका साथ ब्राजिल शीर्षस्थानमा छ।
अघिल्लो खेलमा पनि उसले छिमेकी प्रतिद्वन्दी कोलम्बियालाई हराएको छ। घरेलु मैदानमा कोलम्बियालाई हराउने क्रममा नेयमारले दिएको पासलाई लुकास पकेटाले गोलमा परिणत गरेका थिए।खेल अवधिभर ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले कोलम्बियाको पोस्टतर्फ १६ प्रहार गरेको थियो। छनोटमा ब्राजिलले अझै ६ खेल खेल्न बाँकी छ।