विराटनगर– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १६६ जनाको उम्मेदवारी दर्ता भएको छ।
६ वटा निर्वाचन क्षेत्रबाट निर्धारण गरिएको १२९ महाधिवेशन प्रतिनिधिकाका लागि १६६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत गणेश लुइँटेलले बताए।
मोरङ क्षेत्र नम्बर १ मा २० जना, २ मा २१, ३ मा ३२, ४ मा २९, ५ मा १७ र ६ मा ३७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि चयनका लागि तय गरिएको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको हो। मतदान अघि नै नेताहरूले सर्वसम्मत गराउने पहल गरिरहेको श्रोतको भनाई छ। श्रोतका अनुसार धेरै स्थानीय तहमा सर्वसम्मत भइसकेको छ।
दलित निर्वाचन क्षेत्र अन्तर्गत हुने महाधिवेशन प्रतिनिधिका लागि चार जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध गरिएको छ। निर्विरोध हुनेमा खेम नेपाली, जितनारायण सरदार, कृष्ण बर्देवा र गीता शिवा निर्विरोध भएका छन्।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकाहरूले नेताहरूले सहमतिका नाउमा जबरजस्ती गरेको बताएका छन्। उम्मेदवारी दिइसकेकाहरूले मिल्नका लागि नेताहरूले दबाब दिएको एक नेताले बताए। निर्वाचनमा पराजित हुनेहरूलाई सर्वसम्मत गरेर लैजान नेताहरूका लागि परेको बताइएको छ।
महाधिवेशन प्रतिनिधि चयनमा सहजीकरणको लागि केन्द्रीय सदस्य गुरु बराललाई निर्वाचन क्षेत्र नम्बर १ मा, विनोद ढकाल र जीवन घिमिरेलाई क्षेत्र नम्बर २, ४ र ५ मा भानुभक्त ढकाललाई क्षेत्र नम्बर ३ मा र लालबाबु पण्डितलाई क्षेत्र नम्बर ६ मा संयोजनको जिम्मेवारी दिइएको छ।
नेतृत्वले सर्वसम्मत रूपमा प्रतिनिधि छनौटका लागि पहल सुरु गरेपछि महाधिवेशन प्रतिनिधिका लागि दाबी गर्दै आएका तल्लो तहका कार्यकर्ताहरूले केही बोल्न सकेका छैनन्।
उनीहरू यस पटक नेतृत्वले छनौट गरेर पठाए जाने नभए चुप लाग्ने मनस्थितिमा पुगेको विराटनगर महानगर कमिटीका एक सदस्यले बताए। मोरङमा एमालेका ३३ हजार ४७६ जना संगठित सदस्य छन्।