आइतबार, वैशाख ७, २०८२

डेंगी र जिका भाइरसको उच्च जोखिममा काठमाडौं

पटक–पटक वान्ता भएमा, असह्य हुने गरी पेट दुखेमा, दाँतको गिजा वा नाकबाट रगत बगेमा, पेट सुन्निने, श्वास फेर्ने गाह्रो हुनेजस्ता समस्या भएमा तत्काल अस्पताल जानुपर्ने चिकित्सिकको सुझाव छ ।
 |  शुक्रबार, कात्तिक २६, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक २६, २०७८

vianetvianet

काठमाडौं- काठमाडौंका केही क्षेत्रमा डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

triton college

पछिल्ला केही दिनयता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताललगायत केही अस्पतालमा डेंगुका लक्षण देखिएका बिरामी पुग्न थालेसँगै मन्त्रालयले सो आग्रह गरेको हो।

‘काठमाडौं उपत्यकाकालगायत केही पहाडी जिल्ला तथा तराईका जिल्लाबाट डेंगीको लक्षण भएका बिरामी आउन थालेका छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए।

अस्पताल आएका बिरामीमा ज्वरो आउने, आँखाका गेडी दुख्ने, टाउको दुख्ने, जोर्नी/मांसपेसी दुख्ने, शरीर करकर खाने, ढाड दुख्नेलगायतका लक्षण देखिएका छन्।

त्यस्ता कतिपय बिरामीको परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कात्तिक तथा मंसिर महिनामा काठमाडौंमा डेंगु देखिने गर्दछ। ‘विगतका वर्षमा पनि काठमाडौंमा कात्तिक–मंसिरमा डेंगुका बिरामी देखिने गरेको थियो,’ डा. पुन भन्छन्, ‘त्यसैले अहिले डेंगुको जोखिम रहेको समय हो।’

National life insurance
नेपालमा जिका भाइरसको परीक्षण सुरु भएकै छैन। परीक्षण भए जिका भाइरसका बिरामी पनि भेटिने सम्भावना छ। भारतका विभिन्न ठाउँमा यो भाइरस देखिएकाले नेपालमा पनि जोखिम बढेको छ।

पछिल्लो चार महिनामा काठमाडौंमा ३२ जनामा डेंगु देखिएको छ। राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट उनीहरूमा डेंगु पुष्टि भएको हो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंको अनामनगर, घट्टेकुलो, मैतीदेवी क्षेत्रमा यसको जोखिम देखिएको छ। डेंगुको जस्तै लक्षण देखिएपछि अस्पताल पुगेका ३२ जना बिरामीमा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार साउनदेखि हालसम्म ३२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंको घट्टेकुलोमा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। गत वर्षमा ४ सय ८९ जनामा डेंगु पुष्टि भएको थियो । कोभिडका कारण गत वर्ष डेंगुका बिरामी कम देखिएको अनुमान महाशाखाको छ। गतवर्ष सबैभन्दा धेरै म्याग्दीमा ८९ जनामा डेंगु देखिएको थियो।

घरमै हुन सक्छ उपचार

डेंगुका लक्षण देखिँदा नआत्तिईकन घरमै बसेर उपचार गर्न सकिने चिकित्सक बताउँछन्। डेंगुका लक्षण देखिएमा प्रशस्त झोल कुरा खाएर घरमै आराम गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्ने डा. बास्तोला बताउँछन् । त्यस्तै, पटक–पटक वान्ता भएमा, असह्य हुने गरी पेट दुखेमा, दाँतको गिजा वा नाकबाट रगत बगेमा, पेट सुन्निने, श्वास फेर्ने गाह्रो हुनेजस्ता समस्या भएमा तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन्।

काठमाडौं उपत्यकामा डेंगीबाहेक जिका भाइरसले पनि थप जोखिम बढाएको विज्ञ बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद अधिकारीका अनुसार डेंगु लगाउने लामखुट्टेबाटै जिका भाइरस पनि मानिसमा सर्ने भएकाले जोखिम बढेको हो। ‘भाइरस मात्रै फरक हो संक्रमण गराउने लामखुट्टे भनेको एडिज जातकै हो । अहिले डेंगु फैलाएको लामखुट्टेले जिका पनि फैलाएको हुनसक्छ,’ डा. अधिकारी भन्छन्।

उनका अनुसार नेपालमा जिका भाइरसको परीक्षण सुरु भएकै छैन। परीक्षण भए जिका भाइरसका बिरामी पनि भेटिने सम्भावना छ। भारतका विभिन्न ठाउँमा यो भाइरस देखिएकाले नेपालमा पनि जोखिम धेरै रहेको उनले बताए।

गुजरातमा सन् २०१७ मा तीन जनामा देखएिको जिका भाइरस २०१८ सम्ममा मध्यप्रदेश र राजस्थानसम्म फैलिएको थियो। यसवर्ष अक्टोबरको अन्तिममा उत्तरप्रदेशसम्म यो भाइरस देखापरिसकेको छ।

‘चार वर्ष अघि गुजरातमा देखिएको जिका केही साताअघि उत्तरप्रदेशमा देखिइसकेको छ,’ सरुवारोग विशेषज्ञ डा. पुन भन्छन्, ‘यो नेपालको लागि जोखिम हो।’

जिका भाइरसले संक्रमण गरेको तीनदेखि दुई हप्तासम्ममा यसको लक्षण देखापर्छ। चिकित्सकका अनुसार यसको संक्रमणपछि मानिसको शरीरमा बिमिरा देखिने, ज्वरो आउने, आँखा रातो हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखिन्छन्।

‘जिका भाइरस गर्भवती महिलालाई निकै जोखिम हुन्छ,’ डा. पुन भन्छन्, ‘यसको संक्रमणले गर्भपतन हुनसक्ने वा शीघ्र बच्चा जन्मने समस्या हुन्छ भने नवजात शिशुलाई स्नायुको समस्या गराउन सक्छ।’

पटक–पटक वान्ता भएमा, असह्य हुने गरी पेट दुखेमा, दाँतको गिजा वा नाकबाट रगत बगेमा, पेट सुन्निने, श्वास फेर्ने गाह्रो हुनेजस्ता समस्या भएमा तत्काल अस्पताल जानुपर्ने चिकित्सिकको सुझाव छ ।

जिका भाइरस मुख्यतः लामखुट्टेबाट सर्ने भए पनि मानिसबाट मानिसमा पनि विभिन्न माध्यमबाट सर्छ। गर्भवती अवस्थामा संक्रमित आमाबाट बच्चामा, यौन सम्पर्कबाट, संक्रमितको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा, संक्रमितले रक्तदान गर्दा जिका भाइरस सरेको अनुसन्धानहरुमा पाइएको डा. पुन बताउँछन्।

जिका भाइरसविरूद्ध कुनै पनि औषधि नभएकाले लक्षणका आधारमा औषधिको प्रयोग गरिँदै आएको छ। त्यसैले जिका र डेंगुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरु बताउँछन्।

जिका भाइरस संक्रमण रोकथामका उपाय

जिका भाइरस र डेंगु रोकथाम गर्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।   चिकित्सकका अनुसार अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन।

– यसको रोकथामको एउटै प्रभावकारी उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।

– घरनजिकै पानी जम्मा हुन नदिने।

– लामो बाहुला भएको लुगा लगाउने।

– सुत्ने बेला झुलको प्रयोग गर्ने।

– असुरक्षित यौन सम्पर्क नराख्ने।

– भाइरस फैलिएको क्षेत्रमा यात्रा नगर्ने।

कसरी हुन्छ जिका भाइरसको संक्रमण?

जिका भाइरस विशेषतः लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो। गर्भवती महिलालाई यो भाइरसको संक्रमण भएमा गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुनसक्छ।

यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ। गर्भवती भएका बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ। संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ।

के हुन् जिका भाइरस संक्रमणका लक्षण?

जिका भाइरस संक्रमित धेरै व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ। संक्रमित लामखुट्टेले टोकेको तीनदेखि १४ दिनभित्र केही लक्षणहरू देखिन पनि सक्छ।

– ज्वरो आउने

– आँखा रातो हुने वा सुन्निने

– अत्यधिक जोर्नी दुख्ने, विशेष गरी हात र खुट्टाको

– शरीरमा बिमिरा देखिने

यस्तै, संक्रमित हुँदा मांसपेशी, टाउको, पेट वा आँखा दुख्ने र थकान महसुस हुनेजस्ता लक्षण पनि देखिन सक्छ।

प्रकाशित: Nov 12, 2021| 06:30 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्