काठमाडौं- बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गरेको छ। राजनीतिक दलहरूले प्रधानन्यायाधीश विवादको विषयमा मौनता प्रकट गरेकोमा असन्तुष्टि राख्दै आन्दोलनले यस्तो माग गरेको हो।
'न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई महाभियोग लगाएर न्याय सेवा अविलम्ब चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलले अकर्मण्य मौनता साँधेकोमा बृहत् नागरिक आन्दोलन गम्भीर क्षोभ प्रकट गर्दछ,' आन्दोलनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले निर्वाध न्याय सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। आफ्ना सहकर्मी न्यायाधीशहरूको बहिष्कार र अधिवक्ताहरूको आन्दोलनबाट एक्लिए पनि प्रधानन्यायाधीश राणाले नेताहरूको अनिर्णयको लाभ पाइरहेको उल्लेख गरेको छ।
‘न्यायपालिकाको संकट न्यायपालिका आफैले समाधान गर्छ भन्नु न्यायपालिकाभित्रै बहिष्कृत प्रधानन्यायाधीशलाई टिकाउनु, त्यहाँभित्र भिडन्त निम्त्याउनु र न्यायपालिकामा न्याय किनबेचको अवस्था रोक्ने, सदाचार र सुशासन माग गर्ने आन्दोलन विरूद्ध उभिनु हो,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल बारको अगुवाइमा सर्वोच्च परिसरभित्र बिहीबार भएको प्रदर्शनविरूद्व हतियारधारी प्रहरी परिचालन गरी आन्दोलनकर्मी अधिवक्ताहरूलाई घाइते पारेको घटनाप्रति आक्रोशसमेत बृहत् नागरिक आन्दोलनले व्यक्त गरेको छ।
‘जबराले विचौलियाको नेतृत्व गरेको, परिवारका सदस्यमार्फत सोझै मोलमोलाई गर्ने गरेको, ठूल्ठूला कारोबारहरू भएको, न्यायपालिकाको नूर गिर्ने व्यवहारहरु भएको भन्ने अनवरत समाचारले महाभियोग लगाएर मात्र यसको निदान हुने छैन,' आन्दोलनको विज्ञप्तिमा उल्लेख छ।