काठमाडौं- ललिपुरमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोटको क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बुधबार क्वार्टरफाइनलका खेल सम्पन्न भएका हुन्। क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल खेलको समिकरण पनि पुरा भएको छ।
अब दुवै सेमिफाइनल खेल कार्तिक २६ गते शुक्रबार हुनेछ। जहाँ दिउँसो १२ बजे हुने खेलमा कनकाई नगरपालिकाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ। त्यस्तै, सोहि दिन हुने दोस्रो सेमिफाइनलमा गौरिगंगा नगरपालिकाले धनगढी उपमहानगरपालिकासँग खेल्नेछ।
क्वार्टरफाइनलको आज सम्पन्न पहिलो खेलमा रोङ गाउँपालिका इलामलाई हराउँदै गौरिगंगा नगरपालिकाले सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेटसम्ममा खेल १–१ गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा गौरिगंगाले ३–१ गोलको जित निकालेको हो।
त्यस्तै, आजै सम्पन्न अर्को खेलमा कनकाई नगरपालिकाले गोदावारी नगरपालिकामाथि ३–० गोलको सहज जित निकालेको छ। यो जितसँगै कनकाई पनि छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मंगलबार सम्पन्न खेलमा धनगढी उपमहानगरपालिकाले पनि सेमिफाइनलमा स्थान बनाएको थियो उसले क्वार्टरफाइनलमा बाँगसढी नगरपालिकालाई १२–१ गोलले हराएर अन्तिम चारमा स्थान बनाएको हो। अब सेमिफाइनलमा धनगढीले गौरिगंगा नगरपालिकाको सामना गर्नेछ।
त्यस्तै मंगलबारकै खेलमा शिवसताक्षी नगरपालिकालाई ४–० गोलले हराउँदै ललितपुर महानगरपालिक सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अब सेमिफाइनल खेलमा ललितपुरले कनकाईसँग प्रतिस्पर्धा गर्नेछ।
महिला लिग छनोटमा सहभागी बनेका ३१ टिमलाई १० समूहमा विभाजन गरिएको थियो। ति सबै टिमका विजेताले नकआउट चरण खेलेका थिए। अब प्रतियोगिताको फाइनल पुग्ने टिमले आउँदो सिजनको राष्ट्रिय महिला लिग खेल्न पाउनेछ।
प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउने छ भने उपविजेताले ३ लाख पुरस्कार पाउने छ। फेयर प्ले टिमसँगै आआफ्नो विधाका उत्कृष्ट खेलाडीले पनि समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
आउँदो सिजनको महिला लिगमा तीन विभागीय टिमसँगै मोफसलका टिमले सहभागी हुनेछन्। मोफसलको टिममा वालिङ नगरपालिका, विराटनगर महानगरपालिका र चन्द्रपुर छन्।
पछिल्लो समय लिगमा समावेस चौदण्डीगढी भने रेलिगेसन भएको छ।