काठमाडौं– भक्तपुरको पोटरी स्क्वायर चोकबाट बायाँ लाग्नासाथ प्रजापति पोटरी सिल्ड एन्ड ट्रफी उद्योग देखिन्छ। त्यहाँ माटाका भाँडा बनाइरहेका भेटिन्छन् विनोदकुमार प्रजापति। माटाका भाँडा बनाउनु विनोदको पुर्ख्यौली पेसा हो। तर उनको जीवनको लक्ष्य पुर्ख्यौली पेसामा मात्र सीमित राख्नु थिएन। साथै उनले जीवनका उर्वर समय अन्य क्षेत्रमै लगाएर केही गर्न खोज्दै थिए। कालान्तरमा उनी पुर्ख्यौली पेसामै किन रमाउन पुगे त?
एथ्लेटिक्सका कुशल खेलाडी विनोद यही क्षेत्रमा लागेर नाम राख्न चाहन्थे। आर्थिक उपार्जनको माध्यम यसलाई नै बनाएर खेल क्षेत्रमै रमाउने उनको सोख थियो। त्यसैले उनले एथ्लेटिक्समा राष्ट्रियस्तरको निर्णायक र प्रशिक्षकका पहिचान बनाए। राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा निर्णायक भए भने धेरै खेलाडीलाई प्रशिक्षण दिए। यति मात्र होइन उनले खेलकुदको विकास गर्ने उद्देश्यले एथ्लेटिक्स प्रशिक्षण केन्द्र पनि खोले।
उनले पहिलो पदक भने २०५८ सालमा भएको क्षेत्रीय खेलकुदमा जितेका थिए। पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा उनी निर्णायक थिए। विनोद भन्छन्, ‘पहिलो पटक पदक जितेपछि मलाई खेल क्षेत्रले तान्यो। पढाइभन्दा पनि खेल क्षेत्रमा मन रमायो। पढाइ छाडेर खेलकुदका कार्यक्रममा पुगिहाल्थें।’
धावक विनोदले पहिलोपटक कक्षा ९ पढ्दाताका दौडमा प्रथम पुरस्कार जितेका थिए। त्यही दौडले उनको भविष्यलाई खेल क्षेत्रतर्फ मोड्यो। स्कुलस्तरीय दौड हुँदा नबिराई भाग लिन्थे उनी। ‘प्रायः मेडल जितेर आउँथे,’ उनी सम्झन्छन्, ‘सयौं दौडमा भाग लिएँ।’ उनी मिडल डिस्ट्यान्स धावक पनि बने। २०५६ सालमा ओपन क्रस कन्ट्री दौड हुँदा उनको समूह प्रथम भयो।
राष्ट्रिय स्तरको खेलमा ७५ जिल्लाका धावकलाई पछि पार्दै समूह प्रथम हुनु ठूलो उपलब्धि मान्छन् उनी। उनले अन्तर्राष्ट्रिय दौडका लागि पनि प्रतिस्पर्धा गरेका थिए। अन्तर्राष्ट्रिय खेलका लागि छनोट हुँदा उनी नेपाल भरबाट पाँचौं भएका थिए। तर चार जनालाई मात्र क्लोज क्याम्पमा राखेपछि उनी फ्याँकिए। विनोदले ४० वटा मेडल र ३० वटा पुस्कार जितेका छन्।
खेल क्षेत्रमा लाग्दा आर्थिक रूपमा कमजोर हुन थालेपछि उनको सपना चकनाचुर भएको छ। अहिले उनी आफूले पाएका पुरस्कार र मेडल बोरामा थन्क्याएर पुर्ख्यौली पेसामा सीमित भएका छन्। २०६० सालमा बिहे गरेपछि उनीमाथि जिम्मेवारी थपियो। अनि विभिन्न स्कुलमा खेल प्रशिक्षकका रूपमा आबद्ध भए। तर ५–६ वटा स्कुलमा काम गर्दा पनि परिवार पाल्न पुग्ने आम्दानी हुन सकेन।
खेल क्षेत्रमा लाग्दा उनलाई नाम दियो तर दाम दिएन। ‘परिवार पाल्नै कठिन हुन थालेपछि खेल क्षेत्र छाडिदिएँ’, उनले सुनाए।
उनी भन्छन्, ‘आर्थिक संकटमा फस्न थालें। गुजारा चलाउनै धौ धौ भयो।’ त्यसपछि राष्ट्रिय खेलकुद परिषद्मा जागिर खान पाइन्छ कि भनेर प्रशिक्षण लिए उनले। तर, जागिर मिलेन। अनि उनी बिस्तारै खेल क्षेत्रबाट ओझेलमा परे। विनोद भन्छन्, ‘खेल क्षेत्रले दिलाएको मेडल, पुरस्कार र प्रमाणपत्र बोरामा कोचेर पुर्ख्यौली पेसा सुरु गरें।’
खेल क्षेत्रमा लाग्दा उनलाई नाम दियो तर दाम दिएन। ‘परिवार पाल्नै कठिन हुन थालेपछि खेल क्षेत्र छाडिदिएँ’, उनले सुनाए। उनीसँग माटोको भाँडा बनाउने विषयमा खासै ज्ञान थिएन। तर, पनि उनले हिम्मत हारेनन्। आफन्तको हौसलाले निरन्तर लागिरहे र अहिले पोटरी स्क्वायरमा चिनिएको नाम बनेको छ विनोद।
राणाकालमा उनका पुर्खाले दरबारमा माटाका भाँडा पुर्याउने गरेको विनोदले सुनाए। उनी भन्छन्, ‘बुबाले पनि सुरुमा यही काम गर्नुभयो तर सरकारी जागिर पाएपछि छाड्नुभयो। बुबाले गपोचा (जल दान गर्ने माटोको भुड्को) सम्म बनाउनुभयो रे,’ उनले भने।
धावक विनोदले पनि बिस्तारै आफूलाई यो पेसामा अभ्यस्त बनाउँदै लगे। स्कुल छाडेपछि सुरूका केही दिन व्यापारभन्दा खेलमै लागेको भए तलब त आउँथ्यो भन्ने नलागेको पनि होइन उनलाई। बिस्तारै व्यापार बढ्न थाल्यो। उनी भन्छन्, ‘विदेशी पर्यटक आउँदा एकै दिन १५ देखि २० हजारसम्मको व्यापार हुन थाल्यो। ५० प्रतिशत त नाफै हुन्थ्यो।’
व्यवसायले सोचेभन्दा बढी आम्दानी दिन थालेपछि उनले खेल क्षेत्र चटक्कै छाडे। ‘खले क्षेत्र छोड्दै गएँ र पसलमा धेरै समय दिन थालें।’ उनको मनमस्तिष्कबाट खेल त हटेको छैन। त्यसैले कतै निर्णायक वा छोटो समयका लागि प्रशिक्षण दिन पर्दा उनी पुगिहाल्छन्।
सामान्य अवस्थामा पनि दैनिक पाँच हजारसम्मको कारोबार गर्ने उनले मासिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। विनोद भन्छन्, ‘वार्षिक झन्डै २० लाखसम्म आम्दानी हुने गरेको छ।’
उनी माटोका भाँडा बनाउन र बिक्रीमा मात्र सीमित छैनन्। नेपाली तथा विदेशीलाई भाँडा बनाउने तालिम पनि दिन्छन्। उनले नेपालीसँगै अमेरिकी, फ्रान्सेली, जर्मन नागरिकलाई पनि माटाका भाँडा बनाउने तालिम दिएका छन्। विनोद भन्छन्, ‘म उनीहरूलाई भाँडा बनाउन सिकाउनुको साथै प्रजापतिको संस्कृतिका बारेमा पनि जानकारी दिन्छु।’
प्रशिक्षण दिएकामध्ये कतिपयले त आफ्नो देशमा गएर माटाका भाँडा व्यवसायलाई नै पेसा बनाएको थाहा पाउँदा उनलाई निकै खुसी लाग्छ। उनी भन्छन्, ‘नेपाल आउँदा आफूले बनाएको माटोका सामग्री उपहार ल्याइदिन्छन्।’
दौड छाड्नुपर्दाको दुःख एक ठाउँ छ तर आफ्नो पुर्ख्यौली पेसासँग जोडिन पाउँदा विनोद गर्व महसुस भएको बताउँछन्। पछिल्लो पुस्ताले यो काम छाड्दै गइरहेकाले यो संस्कृतिको चिन्ता पनि छ उनलाई। यसैले त आफ्नो छोरालाई पनि माटोको काम सिकाइरहेका छन्। उनी भन्छन्, ‘पछि उसले यो काम गर्ला–नगर्ला थाहा छैन। आफ्नो संस्कृति भने जानोस् भनेर सिकाइरहेको छु।’ २०३८ साल साउन १९ गते भक्तपुरमा जन्मिएका विनोदले माध्यमिक तहसम्म शिक्षा अध्ययन गरेका छन्।