काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना दिएका थिए।
‘२७ गतेबाट बाँकि रहेका वडा अधिवेशन सम्पन्न गरेर मंसीरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ। अत्यन्तै छोटो कार्यतालिका छ। अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ। तर, एक दिन पनि कार्यतालिका परिवर्तन हुन सक्दैन', उनले भने। उनले जसरी पनि महाधिवेशनलाई स्वच्छ प्रतिस्पर्धात्मक बनाएर सफल पार्नुपर्ने बताए।
'आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ। र, प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा कांग्रेसलाई उर्तानुछ। यसका लागि तपाईं सम्पूर्ण साथीलाई सफलता मिलोस्। प्रतिस्पर्धामा सफलता मिलोस्। प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने सम्पूर्ण एकतामा पनि सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु,’ उनले भने।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गरे।