काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिएका हुन्। उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन्।
प्रधानमन्त्री देउवाले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो। हामीले ल्याएकै होइन। मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने। तर, मलाई जेलमा थुनियो। त्यसकारण एकाएक जनता तातिए। प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ। त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन।'
चुनाव लड्न नसक्नेले प्रजातन्त्रको खिलाफ भनेर भन्न नहुने उनको तर्क छ। 'अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरू आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ,’ देउवाले भने।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराएका छन्। उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहीत हुनुपर्ने बताए।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए। उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए।
प्रधानमन्त्री देउवाले भने, ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन। जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र छ। प्रजा भनेको जनता नै हो। यसमा अर्को पाटो हो निष्पक्ष चुनाव।' उनले कसैले धाँधली गर्न नसकोस्, बद्मासी गर्न नसकोस् भनेर नै निर्वाचन आयोग भएको देउवाले बताए।
प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए। उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)का कारण देशका हिमालहरूमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरूक हुनुपर्ने आवश्यकता औंल्याए।