काठमाडौं- क्रिकेट विश्वकपको अर्को उपाधि यात्रामा फेरि भेट हुन पुगेका छन् न्युजिल्यान्ड र इंग्ल्यान्ड। क्रिकेट समर्थकले दुई वर्षअघिको त्यो विश्वकप फाइनल भुलेकै छैनन्। जहाँ न्युजिल्यान्ड र इंग्ल्यान्ड फाइनल पुगेका थिए।
घरेलु समर्थकको साथ पाएको इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएर उपाधि जित्न ठूलो जोडबल नगरेको होइन। तर, फाइनल खेल बराबरी भयो। खेल सुपर ओभरसम्म पुग्यो। सुपर ओभर पनि बराबरी भएपछि नतिजा कसरी लिइन्छ होला भन्ने कौतूहल खेल हेरिरहेका सबैमा थियो।
अन्ततः प्रतियोगितामा प्रहार गरेका छक्का र चौकको आधारमा इंग्ल्यान्ड विजेता घोषित भयो। न्युजिल्यान्डले फाइनल खेल नहारीकनै उपविजेतामा समेटियो। त्यसैले आजको खेलमा त्यो फाइनलपछिको वास्तविक विजेताको छिनोफानो हुने विश्वास गर्न सकिन्छ।
यता न्युजिल्यान्डको क्रिकेट यात्रा त्यो विश्वकपमा मात्र रोकिँदैन। उसले त्यो फाइनलपछि टेस्ट च्याम्पियनसिपको उपाधि पनि जितिसकेको छ।
इंग्ल्यान्डको लर्डस रंगशालामा २०२१ को जुनमा आयोजना भएको त्यो टेस्ट च्याम्पियनसिपको फाइनलमा उसले भारतलाई हराएर उपाधि जितेको हो। समय चक्रसँगै न्युजिल्यान्ड आज अर्को निकै महत्त्वपूर्ण यात्राको संघारमा छ। त्यो हो टी २० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको खेल। त्यसैले ऊ एकै वर्षमा दुई ठूलो उपाधि जित्ने यात्रामा दुई खुट्किला पछि छ।
‘व्यक्तिगत रूपमा म धेरै खुसी छु कि जसरी मेरा खेलाडीहरूले ठूलो स्टेजहरूमा युद्ध गर्न र अघि बढ्न सकिरहेका छन्,’ न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिड भन्छन्, ‘मेरो टिममा सामूहिक ज्ञान भएका खेलाडी छन्। हामी युद्ध गर्छौ जहाँ पुरा जोडबलका साथ खेल्छौं। दिनको अन्तिममा सुखद नतिजा निस्कन्छ त्यसले हामीलाई सन्तुष्टि दिन्छ।’
न्युजिल्यान्डले यात्रा गर्नुपर्ने ती दुईमध्येको एक खुड्किलो हो – आज राति पौने ८ बजे अबुदाबी रंगशालामा हुने सेमिफाइनल। त्यो खेलअघि धेरै समर्थकहरूले दुई वर्षअघिको फाइनल खेल सम्झिएका छन्। के आजको खेल पनि सुपर ओभरसम्म पुग्ला? धेरैको मनमा प्रश्न उठेको छ।
खैर, त्यो आज इतिहास भइसकेको छ। इतिहास भनेको इतिहास हो। त्यसैले न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिड २०१९ को त्यो ‘भूत’ले आज सिकार गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘मैले यहाँ त्यसबारे खासै सुनेको छैन। मलाई लाग्छ मेरा खेलाडी इंग्ल्यान्डसँग कसरी खेल्ने भन्नेमा व्यस्त छन्। उनीहरू गुणस्तरीय टिम छन् र हामी सामना गर्न तयार छौं।’
उनले त्यो खेलले आज प्रभाव नपर्ने र खेल सुपर ओभरसम्म नपुग्ने विश्वास पनि व्यक्त गरेका छन्। दुई वर्षअघिको फाइनल खेलेका इंग्ल्यान्डका ८ खेलाडी अहिले टिममा छन्।
आजको खेलमा इंग्ल्यान्डका ज्यासन रोय हुने छैनन्। उनी कुमको चोटका कारण मैदानबाहिर छन्। त्यस्तै, न्युजिल्यान्डका लकी फग्र्यूसन पनि आजको खेलमा हुने छैनन्।
‘कुनै खेलाडी चोटका कारण बाहिरिउन भन्ने हामी चहाँदैनौं। लकी नहुनुले हामीलाई घाटा भएको छ। रोय नहुँदा इंग्ल्यान्डलाई पनि सायद त्यस्तै भएको हुँदो हो,’ ग्यारीले भने, ‘तर इंग्ल्यान्ड फरक खेलाडीसँग फरक तरिकाले खेल्नसक्ने टिम भने हो।’