सरकारले आगामी चैतभित्र सबै नागरिकलाई कोरोनाको खोप लगाउने लक्ष्य राखेको छ। तर खोपको उपलब्धता, खटिएका जनशक्ति र दैनिक लगाइने गरेको तथ्यांक हेर्दा तोकिएको लक्ष्य पूरा हुनेमा सम्बद्ध अधिकारी नै विश्वस्त छैनन्।
काठमाडौं- सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सबैलाई खोप लगाइसक्ने योजना ल्याएको भए पनि सो योजना पूरा हुने सम्भावना क्षीण देखिएको छ। माघ १४ देखि थालिएको खोप अभियान ९ महिनामा १ करोड ६१ लख ७३ हजार २४६ मात्रा दिइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ छन्। तीमध्ये हालसम्म ३७.३ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा अर्थात् दुवै खोप लिएका छन् भने ४३.९ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।
हाल दैनिक झण्डै ४५ हजारले खोप लिइरहेका छन्। पछिल्लो साता ३ लाख १४ हजार ९ सय ६४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको थियो। सो दरले आगामी चैतसम्म लक्षित समुदायको शतप्रतिशतलाई खोपको दायरामा ल्याउने मन्त्रालयको योजना छ। यही दरमा सरकारको लक्ष्य पूरा नहुने विज्ञ बताउँछन्।
पछिल्लो तथ्यांकलाई आधार मान्दा एक सातामा ३ लाख १४ हजार ९ सय ६४ मात्रा खोप लगाइएको छ। जसअनुसार औसत दैनिक ४४ हजार ९ सय ६४ हजार खोप लगाइएको छ। सो अनुसार लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई दुइ डोजका दरले ३ करोड ९८ लाख ४४ हजार ३ सय २८ मात्रा खोप आवश्यक पर्दछ।
अमेरिकी उत्पादक जोनसन एन्ड जोनसनको खोप लगाएका १५ लाख ३० हजारलाई भने अर्को डोज आवश्यक पर्दैन। सरकारले हालसम्म १ करोड ६१ लख ७३ हजार २ सय ४६ डोज मात्रै खोप लगाएको छ।
कोभिड खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, 'पहिलो कुरा खोपको उपलब्धता कति छ हेर्नुपर्छ दोस्रो कुरा खोप लगाउने जनशक्तिमा पनि ध्यान दिनुपर्छ।’
चैत मसान्तभित्र खोप लगाउने हो भने अबका १ सय ५७ दिनमा २ करोड २१ लाख डोज खोप लगाइसक्नुपर्ने हुन्छ। तर दैनिक खोपको दरलाई आधार मान्ने हो भने चैत मसान्तसम्म सरकारले ७० लाख ५९ हजार ३ सय ४८ मात्रा खोप लगाउन सक्ने देखिन्छ।
‘सरकारले चैतसम्म १८ वर्ष माथिकालाई पूर्णखोप लगाउने लक्ष्य लिएको भए पनि यही गतिमा लक्ष्य पूरा हुन गाह्रो छ,’ स्वास्थ्य मन्त्रालयले गठन गरेको कोभिड खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, 'पहिलो कुरा खोपको उपलब्धता कति छ हेर्नुपर्छ दोस्रो कुरा खोप लगाउने जनशक्तिमा पनि ध्यान दिनुपर्छ।’
उनले पनि हालको खोप दरले लक्षित समयमा खोप कार्यक्रम पूरा नहुने बताए। उप्रेती भन्छन्, ‘सरकारलाई खोप कार्यक्रम प्रभावकारी बनाउने र खोप दर बढाउने चुनौती छ।’ लक्षित समयमा खोप कार्यक्रम सम्पन्न गर्न दैनिक १ लाख ४० हजारभन्दा बढी मात्रा खोप लगाउनुपर्ने उनी बताउँछन्। यही दरमा लगाउने हो भने अझै ४९१ दिन अर्थात् १६ महिनाभन्दा बढी लाग्ने देखिन्छ।
मन्त्रालयका अनुसार कात्तिक १५ गते ६५ हजार २८ जनाले खोप लगाएकोमा कात्तिक २० गते १ हजार ९ सय ८५ जनाले खोप लगाएका छन्। पछिल्लो सयम खोप लगाउने दर निकै घटेको देखिन्छ। यसो हुनुमा पर्व बिदा भएको मन्त्रालय अधिकारीको भनाइ छ।
‘खोपको महत्व बुझेकाहरूले खोप लगाइसकेका छन्,’ उप्रेतीले भने, ‘बाँकी मानिसलाई हामीले सचेत गर्न सकेका छैनौं।’ खोपको महत्त्वका बारेमा सरकारले पनि बुझाउने प्रयास नगरेको उनको धारणा छ। ‘१८ वर्षभन्दा माथिका मानिसलाई खोपको बारेमा बुझाएर पूर्ण रूपमा खोप लगाउन नसकिए बालबालिकामा खोप लक्ष्य पूरा हुन झन् कठिन हुन सक्छ,’ उनले भने। अब घरदैलोमा गई कोभिडविरुद्धको खोप लगाउने अभियान चलाउनुपर्ने डा. उप्रेती बताउँछन्।
सुरूवाती दिनमा ६५ वर्षमाथिकालाई खोप लगाउने योजना कार्यान्वयन गर्दा लक्षित समूहका १८ लाखमध्ये १४ लाखले मात्र खोप लगाएका थिए। ‘सो उमेर समूहका खोप लगाउन बाँकी ४ लाख ज्येष्ठ नागरिकले खोप पाए पाएनन् भन्नेमा पनि सरकारले ध्यान दिएको छैन,’ डा. उप्रेती भन्छन्। उनका अनुसार जोखिम उमेर समूहमा भएकाहरूले खोप लिन आउने वातावरण बनाउने नीति सरकारले बनाउनुपर्छ।
वैशाखसम्ममा कुल २ करोड ५१ लाख डोज खोप ल्याउने सरकारको योजना छ। हालसम्म अनुदान र खरिद गरेर २ करोडभन्दा बढी खोप नेपाल आइसकेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप महाशाखाका प्रमुख विवेकलाल कर्णले हाल पर्व बिदाका कारण खोपको दर घटे पनि आगामी दिनमा खोप लगाउनेको संख्या बढ्ने दाबी गर्छन्। यो साताभन्दा अघिल्लो साता खोप लगाउने दर बढी थियो।
‘सरकारको चैतसम्ममा १८ वर्ष माथिका जनसंख्यालाई पूर्णखोप लगाउने लक्ष हो,’ डा. कर्ण भन्छन्, ‘हामीलाई जसरी पनि चैतभित्र खोप लगाइसक्न निर्देशन छ। पूरा हुन्छ - हुँदैन भन्न सकिँदैन।’
समयमै खोप आइमा लक्ष्य पूरा हुन सक्नेमा उनी आशावादी छन्। ‘अहिलेको चुनौती भनेको खोप समयमा नै आएन भने के गर्ने भन्ने हो। खोपको सहज उपलब्धता भएमा हामी प्रयास गर्नेछौं,’ उनी भन्छन्।
सरकारले हालसम्म करिब ४ हजार खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइरहेको छ। स्थानीय तहले खोप केन्द्र व्यवस्थापन गरिरहेका छन्। ‘हामीले खोप व्यवस्थपनको जिम्मा स्थानीय तहलाई दिएका छौं,’ उनले भने, ‘तर तोकेको उमेर समूहभन्दा बाहिरकालाई पनि खोप लगाइदिँदा भने समस्या देखिएको छ।’
वैशाखसम्ममा कुल २ करोड ५१ लाख डोज खोप ल्याउने सरकारको योजना छ। हालसम्म अनुदान र खरिद गरेर २ करोडभन्दा बढी खोप नेपाल आइसकेको छ। नेपालमा भित्रिएका खोपमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोनसन र फाइजर छन्। २ करोड डोज खोप आउने क्रममा रहेको छ।