काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका हुन्। असन्तुष्ट न्यायाधीशहरूसँग प्रधानन्यायायाधीश राणाले बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकको पेसी नतोक्ने ‘भद्र सहमति’ गरेका थिए।
जबराले आफ्नो एकल इजलासमा पनि एउटा मुद्दाको पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, वैदेशिक रोजगार कसुर, सवारी ज्यान लगायतका मुद्दा राखेका छन्।
मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास तोकिएको छ।
उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्। जबराले पेसी तोके पनि अरू न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना कम रहेको बताइएको छ।