काठमाडौं– आउँदो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल फुटबल क्लबले दुई खेलाडी भित्र्याएको छ।
उसले नेपाल यू २३ टिमका कप्तान एवं गोलकिपर अर्पण कार्कीलाई भित्र्याएको छ। उसले हिजो (सोमबार) कार्कीसँग यो सिजनका लागि सम्झौता गरेको जनाएको छ।
अर्पन नेपाल राष्ट्रिय यू-२३ टोलीका कप्तान समेत हुन्। उनी नेपालको उमेर समूहमा एक सफल कप्तानसमेत हुन्। नेपालले २०१७ मा भुटानमा भएको यू-१९ साफको उपाधि उचाल्दा उनी टोलीको लागि कप्तान समेत रहेका थिए।
उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन्। अर्पनले माल्द्विपमा जेजे स्पोर्टस क्लब र भुटानमा पारो एफसीबाट लिग खेलेका छन्। यस्तै उनले नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु लिग पनि खेलेका छन्।
त्यस्तै, च्याससले भारतीय खेलाडी शेम मार्टनलाई पनि अनुबन्ध गरेको छ। २६ वर्षे मार्टनलाई आई लिग क्लब चेन्नईबाट अनुबन्ध गरेको क्लबले जानकारी दिएको छ।
आउँदो संस्करणको ए डिभिजन लिग यही कात्तिक २९ गतेबाट सुरु हुँदैछ।