काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाऊ गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।अखण्ड नेपाल हिन्दु अधिराज्य पुनर्स्थापना र्याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराका पक्षमा र राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको विरोधमा प्रदर्शन गरिएको हो।
विरोध प्रदर्शनका क्रममा आयोजित कोणसभामा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे।
उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरे। ‘एक छिनलाई मानौं–चोलेन्द्रशमशेरले सत्तामा भाग खोजे। सत्तामा भाग दिने मान्छे को? शेरबहादुर देउवा,' वरिष्ठ अधिवक्ता न्यौपानेले भने, 'पहिले राजीनामा शेरबहादुर देउवाको मागौं। हाम्रा कानुन व्यवसायीहरुले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन्?’
वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपेली संघका मान्छेहरुलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दाबीसमेत गरे।